मुख्यमन्त्री बानियाँद्वारा चाँडै विश्वासको मत लिने तयारी, संसदलाई ‘बिजनेस’ दिने उद्घोष

जनपत्र
२२ श्रावण २०८२, बुधबार १७:५१

हेटौंडा, २१ साउन – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निकट भविष्यमा प्रदेशसभा मार्फत विश्वासको मत लिने तयारी गरेका छन्। अबको एक साताभित्रै विश्वासको मत लिने योजना अघि बढाइएको मुख्यमन्त्री बानियाँले बताएका छन्।

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। विशेषतः नेपाली कांग्रेसका सांसदहरूको उल्लेख्य संख्यामा मन्त्री बन्ने आकांक्षा रहेकाले विश्वासको मतपछि मात्रै मन्त्रीहरूको टुंगो लगाउने तयारी गरिएको बुझिएको छ।

‘ठ्याक्कै कति दिनमा भन्ने छैन, तर पाँच दिन भित्र पनि हुनसक्छ, सात दिनमा पनि हुन सक्छ,’ जनपत्र डटकमसँगको कुराकानीमा मुख्यमन्त्री बानियाँले भने, ‘छिट्टै विश्वासको मत लिएर सरकारको कामलाई तीव्रता दिने तयारीमा छु।’

प्रदेशभर हाल बाढी र पहिरोको जोखिम रहेका बेला सरकारले विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था रहेको भन्दै उनले पहिलो मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णयहरू गरिसकेको जानकारी दिए। उनले प्रदेश सरकार अब संसदलाई पनि ‘बिजनेस दिनेगरी’ सक्रिय रुपमा अघि बढ्ने बताए।

‘सरकारका कामलाई पनि तीव्र रुपमा अगाडि बढाइन्छ, संसदलाई पनि व्यवसाय दिनेगरी काम गरिन्छ,’ मुख्यमन्त्री बानियाँले भने।

कांग्रेसको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँलाई थमाएको छ।

यी ६ मन्त्रालयका लागि अब ५ मन्त्री नियुक्त गर्नुपर्ने चुनौती बानियाँको काँधमा छ। पार्टीभित्रको विवादका कारण सिर्जित परिस्थितीबाट मुख्यमन्त्री बनेका बानियाँको लागि मुख्यमन्त्री यात्रा त्यति सहज भने देखिदैँन।

संसदीय दलका नेताका लागि कांग्रेसभित्र उत्पन्न भएको विवादले कांग्रेसका ३७ सांसदलाई दुईधारमा विभाजन गरिदिएको छ। निर्वतमान मुख्यमन्त्री बहादुर सिंह लामा र मुख्यमन्त्री बानियाँ समूह दुईधार बनेका छन्। जसका कारण पनि मन्त्री नियुक्तीको प्रक्रिया सहज नहुने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*