बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

जनपत्र
२१ श्रावण २०८२, मंगलवार १७:२१

हेटौँडा, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्री बानियाँले मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक संरचना सार्वजनिक गरेका हुन्।

बानियाँसँगै नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ लिए। तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन। बाँकी ५ मन्त्रालय कांग्रेसले आन्तरिक विवादका कारण हालसम्म पनि टुंग्याउन सकेको छैन।

नेकपा एमालेतर्फबाट भने ६ मन्त्रीले जिम्मेवारीसहित शपथ ग्रहण गरे। तीमध्ये मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास, जयराम थापाले श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन , डाक्टर दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, किरण थापाले स्वास्थ्य र भरत केसीले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कुल १४ मन्त्रालय रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेबीचको भागबण्डा अनुसार एमालेले ६ मन्त्रालय पाएको हो भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति भएको छ। बाँकी पाँच मन्त्रालयमा कांग्रेसले चाँडै मन्त्री नियुक्त गर्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*