बागमती प्रदेश प्रमुख देबकोटाद्वारा चार वटा विधेयक प्रमाणीकरण

जनपत्र
२० श्रावण २०८२, सोमबार १७:१७

हेटौंडा, साउन १९ गते /बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका चारवटा विधेयकहरूलाई आज प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम तीनवटा विधेयक र उपधारा (४) बमोजिम एकवटा विधेयक प्रमाणीकरण गरिएको हो।

प्रमाणीकरण भएका विधेयकहरू यसप्रकार छन्:

१. प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
२. प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
३. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
४. प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सर्पिकोटाका अनुसार, यी विधेयकहरूले औद्योगिक, व्यापारिक, स्वास्थ्य र कृषि क्षेत्रका कानुनी संरचना सुदृढ गर्दै प्रदेश विकासको मार्गचित्र अझ स्पष्ट बनाउने विश्वास लिइएको छ।

संविधान बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भई पेश गरिएका विधेयकहरूमा समयमै प्रमाणीकरण गर्दै आएका छन्। नयाँ संशोधनहरूसँगै यी ऐनहरू अब कार्यान्वयनको चरणमा प्रवेश गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*