नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

जनपत्र
२० श्रावण २०८२, सोमबार १४:५१

हेटौंडा — बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वानपछि नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त समर्थनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।

सोमबार  इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख समक्ष बुझाएको औपचारिक पत्रमा नेपाली कांग्रेसका ३७ जना र नेकपा (एमाले) का २७ जना गरी कुल ६४ जना प्रदेश सभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ।

बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गरेका हुन्। पत्रमा उल्लेख गरिएको छ, “बागमती प्रदेश सभामा रहनुभएका ११० जना माननीय सदस्यहरुमध्ये ६४ जनाको बहुमतसहित नेपाली कांग्रेस संसदीय दल र नेकपा एमाले संसदीय दलको समर्थनमा नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता माननीय इन्द्र बहादुर बाँनियालाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्दछौं।”

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नै सरकार गठनका लागि आह्वान गरेका थिए। यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाले साउन १८ गते पदबाट राजीनामा दिएपछि बागमती प्रदेश नेतृत्वविहीन बनेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*