बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामाले औपचारिक रूपमा आफ्नो राजीनाको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा लामा निकै भावुक देखिए। आफू इमानदार भएर काम गर्दा पनि राजनीतिक खेलको शिकार बन्नुपरेको गुनासो उनले सार्वजनिकरूपमा गरे। ईमानदारीको मूल्य यस्तै हुँदो रहेछ, लामाले पत्रकारहरूलाई भने।
२०८१ साल साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामा साउन ९ गते शपथ लिएर पदभार सम्हालेका थिए। तर नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक कलहले उनको एकवर्षे कार्यकालमै टुंगो लगाइदिएको छ।
लामाविरुद्ध आफ्नै दलका २१ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथिको मतविभाजनमा २२ सांसदले प्रस्तावको पक्षमा मत दिएपछि लामाको हैसियत कमजोर बन्यो। त्यसपछि भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँले २२ मत ल्याएर लामालाई पराजित गरे।







