बागमती प्रदेशमा संसद् विघटनको अवस्था आयो भने सरकारलाई साथ दिन्छौं– माओवादी नेता जम्मकट्टेल

जनपत्र
१५ श्रावण २०८२, बुधबार १३:१६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारको नेतृत्व नछोड्ने अडान कायमै राखेका कारण नयाँ सरकार गठनको प्रक्रिया अझै अल्झिएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेताबाट बाहिरिए पनि लामाले मुख्यमन्त्री पद नछोड्ने अडान राख्दा संकट गहिरिएको हो ।

मुख्यमन्त्री लामाप्रति कांग्रेसकै इन्द्रबहादुर बानियाँ पक्षीय सांसदहरूले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अझ जटिल अवस्थातर्फ उन्मुख देखिएको छ ।

यही सन्दर्भमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभा विघटनको सम्भावना आउँदा आफ्नो दलले सरकारलाई साथ दिने स्पष्ट संकेत गरेका छन् ।

जनपत्र डटकमसँगको कुराकानीमा उनले भने, “अहिल्यै त्यस्तो अवस्था त आएको छैन, र हामी चाहँदैनौं पनि । तर, यदि अवस्था अत्यन्तै जटिल भयो र प्रदेशसभा विघटनको संघारमा पुग्यो भने हामी त्यसबेला गम्भीर रूपमा विचार गर्नेछौं ।”

सरकारमा जानेसम्बन्धी कुनै औपचारिक छलफल पार्टीमा नभएको बताउँदै जम्मकट्टेलले अहिलेको सत्ता संकटको जड हालै आएको बजेटमा रहेको असन्तुष्टि भएको बताए ।

“बजेट हेर्नेबित्तिकै मैले मुख्यमन्त्रीसँग भेट गरेरै भनेको थिएँ— तपाईंलाई अब समस्या पर्न सक्छ । तपाईंको दलभित्रबाटै अप्ठ्यारो आउने देखिन्छ, माओवाीलाई त बजेट दिनु भएन तर, कांग्रैसकै सांसदले पनि बजेट परेन भनेर चित्त दुखाएका छन् ।” उनले स्पष्ट गरे ।

जम्मकट्टेलका अनुसार कांग्रेसभित्र हाल संसदीय दलको नेताका लागि प्रतिस्पर्धा चलिरहेको छ । त्यहाँबाट जो निर्वाचित हुन्छ, उसले सरकारको नेतृत्व लिने सम्भावना छ र एमालेको समर्थन समेत पाउने परिस्थिति बन्न सक्छ ।

“अहिलेको यो तरल अवस्था पार्टीको आन्तरिक असहमतिबाट आएको हो । सरकार टिकाउने वा बिगार्ने खेल मुख्यतः कांग्रेसभित्रै भइरहेको छ,” उनले थपे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*