बागमती कांग्रेस संसदीय दलमा आज अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्दै, सहमति नभए मतविभाजन
हेटौंडा । बागमती प्रदेशको नेपाली कांग्रेस संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले बिहान १० बजेदेखि प्रस्ताव प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्।
साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गरिएको छ।
हिजो सोमबार राति ९ बजे लामा पक्ष र बानियाँ पक्षबीच अविश्वास प्रस्तावको विषयलाई आज बिहान १० बजेबाट प्रक्रिया अघि बढाउने सहमति भएको थियो। सोमबार दिनभर दुबै पक्षबीच संवाद चलिरहँदा बानियाँ पक्षले विषयलाई ढिलो नगरी तत्काल टुंग्याउनुपर्ने अडान राखेको थियो। उता लामा पक्षले भने आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरियाबाट फर्किएपछि मात्र प्रक्रिया अघि बढाउनुपर्ने तर्क राख्दै केही ढिलो गर्न खोजेको थियो।
सांसद इन्द्रबहादुर बानियाँले कांग्रेस संसदीय दलभित्र उत्पन्न आन्तरिक समस्या सहमतिका आधारमा टुंग्याउने प्रयास भइरहेको बताए। उनका अनुसार सोमबार दिनभर पार्टी केन्द्रबाट खटिएका प्रतिनिधि तथा केन्द्रीय सदस्य राजन केसी र दुबै पक्षका सांसदहरूबीच छलफल जारी थियो। सबै पक्षलाई समेटेर संवादबाट निष्कर्षमा पुगिने आशामा पहल गरिएको उनको भनाइ छ।
पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेका अनुसार सहमतिका लागि बिहान १० बजेसम्म प्रयास हुनेछ। सहमति जुट्न नसकेपछि भने अविश्वास प्रस्तावलाई मतविभाजनमार्फत टुंगो लगाइने दुवै पक्षको सहमति रहेको उनले जानकारी दिए।
मतविभाजनबाट बहुमत सांसदको साथ बानियाँ पक्षमा गए लामा नैतिक रूपमा मुख्यमन्त्री पद त्याग गर्नुपर्ने दबाबमा पर्नेछन्। तर बहुमत गुमाएको आरोपबीच पनि यदि उनले पुनः बहुमत सांसदको विश्वास जित्न सके भने दलको नेता पदमा यथावत रहने सम्भावना रहन्छ।
हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। संसदीय दलको नेता हुन कम्तीमा १९ जना सांसदको समर्थन आवश्यक पर्छ। लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा पूर्वमन्त्रीहरू सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मदुकुमार श्रेष्ठले समेत हस्ताक्षर गरेका छन्। यिनै चारै जनाले राजीनामा दिएपछि लामा थप दबाबमा परेका थिए।







