कांग्रेस बागमती प्रदेश संसदीय दलको विवाद समाधानमा आजबाट प्रक्रिया सुरु गरिदै
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा चुलिएको आन्तरिक विवाद समाधानका लागि केन्द्रबाट प्रतिनिधिका रूपमा सांसद राजन केसी आइतबार हेटौंडा आइपुगेका छन् । संसदीय दलभित्रको विवादलाई औपचारिक रूपमा टुंग्याउने उद्देश्यले आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको बैठक बस्ने तय भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध आफ्नै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक अस्थिरतालाई समाधान गर्न केसी हेटौंडा आएका हुन् । हाल लामा दलभित्र अल्पमतमा छन् । ३७ सदस्यीय कांग्रेस संसदीय दलका २१ जनाले लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । उक्त प्रस्ताव कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता भएको हो । विशेष कुरा के छ भने, लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् ।
केन्द्रीय प्रतिनिधि केसीले आज बस्ने बैठकबाट दुई चरणको संसदीय प्रक्रियामार्फत विवाद समाधानको खाका अघि सारिएको बताए । ‘पहिलो चरणमा अविश्वास प्रस्तावमाथि पक्ष र विपक्षमा मतदान हुनेछ । त्यो पारित भएपछि मात्र नयाँ दलको नेता चयनको प्रक्रिया अघि बढ्छ,’ केसीले स्पष्ट पारे । उनका अनुसार दोस्रो चरणमा दलको नेता दाबी गर्नेबीच गोप्य मतदान हुनेछ, जसको परिणामअनुसार कांग्रेस संसदीय दलको नयाँ नेता चयन हुनेछ । संविधानअनुसार दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने भएकाले नेतृत्व परिवर्तनको मुख्य मुठभेड हुने संकेत छ ।
मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि कांग्रेस प्रदेश संसदीय दलका सचिव कृष्णकुमार तामाङले पार्टीको प्रदेश समिति र केन्द्रीय समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेका थिए । तामाङ यसअघि लामाको पक्षमा देखिए पनि अहिले बानियाँनिकट छन् । उनले संसदीय दलले दिएको अधिकारअनुसार केन्द्रसँग समन्वय गरेको दाबी गरेका छन् । त्यसअनुसार नै राजन केसीलाई हेटौंडा खटाइएको हो ।
अविश्वास प्रस्तावपछि लामा सक्रिय
अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री लामाले तत्काल राजनीतिक रणनीति अपनाउँदै आफ्नो पक्षमा बहुमत कायम गर्न प्रयास गरिरहेका छन् । उनले प्रस्तावमा हस्ताक्षर गरेका चार जना मन्त्रीलाई संविधानको धारा १६९ (२) (ख) अनुसार पदमुक्त गरेका छन् । पदमुक्त गरेकाहरु आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन् ।
शुक्रबार दिउँसो चारै मन्त्रीले राजीनामा दिए पनि लामाले राजीनामा स्वीकृत नगरी उनीहरूलाई बर्खास्त गरेका हुन् । अहिले उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी थालेका छन् । लामा पक्षीय सांसदहरूको भनाइमा, अविश्वासको प्रस्तावको सामना गर्न उनले बानियाँ पक्षका केही सांसदलाई फकाउने रणनीति बनाएका छन् । यसै सन्दर्भमा उनी हाल काठमाडौंमा रहेका छन् र केन्द्रीय नेतृत्वलाई आफ्नो पक्षमा तान्ने प्रयासमा जुटिरहेका छन् ।
लामालाई समर्थन जुटाउन गाह्रो
२०७९ सालमा संसदीय दलको नेतामा प्रतिस्पर्धा हुँदा लामाले २१ मत प्राप्त गर्दै बानियाँलाई १६ मतले पराजित गरेका थिए । तर अहिलेको अवस्थामा परिस्थिति पल्टिएको देखिन्छ । बानियाँ पक्षमा लामासमेतको समर्थन पाएका केही सांसद खुलेपछि लामा अल्पमतमा पुगेका छन् । त्यसैले आज बस्ने बैठकको परिणाम नै लामा नेतृत्वको भविष्य निर्धारण गर्नेछ ।
आजको बैठक निर्णायक
आज दिउँसो १ बजे हेटौंडामा बस्ने कांग्रेस संसदीय दलको बैठक निर्णायक हुने देखिएको छ । बैठकमा अविश्वास प्रस्तावमाथि मतदान गरेर लामा बहुमतमा छन् वा छैनन् भन्ने टुंगो लाग्नेछ । यदि प्रस्ताव पारित भयो भने दोस्रो चरणमा दलको नयाँ नेता चयन प्रक्रिया अघि बढ्नेछ । नेतृत्वमा इन्द्रबहादुर बानियाँ प्रमुख दाबेदार मानिएका छन् ।
प्रदेश सरकारको स्थायित्वको सवालमा रहेको यो विवाद नेपाली कांग्रेसभित्रको शक्ति संघर्षको प्रतिविम्ब हो । यद्यपि, अहिले देखिएको अवस्था अनुसार बागमती प्रदेशमा नेतृत्व फेरबदलको सम्भावना बलियो बनेको छ ।







