मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

जनपत्र
१२ श्रावण २०८२, आईतवार १८:०६

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।

दुर्घटना आज दिउसो भएको हो। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौंडातर्फ आइरहेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

स्कुटर चालक, चितवनको भरतपुर महानगरपालिका–११ बस्ने करिब ५१ वर्षका मोति बहादुर क्षेत्रीलाई गम्भीर अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो। तर, उपचारको क्रममा ३ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव हेटौंडा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर बस्ने करिब ३६ वर्षीया नरमाया गुरुङको अवस्था गम्भीर रहेको छ। उनको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। उनलाई पुरानो मेडिकल कलेज, चितवनमा लगेर उपचार गरिएको छ। प्रहरीका अनुसार उनी सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेकी छन्।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीको बोर्डरबास नगरपालिका–२ निवासी करिब ३५ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*