बागमतीमा मुख्यमन्त्री परिवर्तनको हल्ला निराधारः मृत्यु वा गम्भीर अस्वस्थता बाहेक परिवर्तन सम्भव छैन– बहादुर सिंह लामा

जनपत्र
९ श्रावण २०८२, बिहीबार १५:३६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने चर्चा हल्ला मात्र भएको स्पष्ट पार्नुभएको छ । जनपत्र डटकम सँगको कुराकानीमा मुख्यमन्त्री लामाले आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आउनु वा मृत्यु भएमा मात्र आफू पदबाट हट्ने र मुख्यमन्त्री परिवर्तन हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेका लागि मुख्यमन्त्री परिवर्तनको कुनै आधार छैन । म गम्भीर बिरामी भएमा वा मृत्यु भएमा मात्र मुख्यमन्त्री फेरबदल हुन्छ । त्यसबाहेक अहिले परिवर्तनको कुरा हुँदैन ।”

लोकतन्त्रको स्थापनाका लागि आफैंले लामो संघर्ष गरेको स्मरण गराउँदै उहाँले मुख्यमन्त्री परिवर्तन पनि एउटा कानुनी प्रक्रिया भएको उल्लेख गर्नुभयो । “मुख्यमन्त्री परिवर्तन प्रक्रियागत ढंगले मात्रै हुन्छ । यसका लागि आवश्यक कानुनी प्रावधानहरू छन् । त्यसलाई बेवास्ता गरेर हल्लाका भरमा मुख्यमन्त्री परिवर्तन हुँदैन,” उहाँको भनाइ छ ।

मुख्यमन्त्री लामा हालै विदेश भ्रमणमा रहँदा आफू ‘बेपत्ता’ भएको भनेर हल्ला फैलाइएको र त्यसै विषयलाई लिएर भ्रामक समाचार लेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

यस्तै, पछिल्ला दिनहरूमा फेरि मुख्यमन्त्री परिवर्तन हुने भन्ने हल्ला चलेको भन्दै उहाँले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेसम्म नेपाली कांग्रेसका कुनै पनि नेताबाट राजीनामा दिन दबाब नआएको र आफूले पनि राजीनामा दिने कुनै योजना नरहेको बताउनुभयो ।

बितेका जेठ र असार महिनामा पनि मुख्यमन्त्री परिवर्तनको चर्चा व्यापक बनेको थियो । तर, सो समयमा बजेट पास गर्ने सन्दर्भमा राजनीतिक बार्गेनिङकै कारण त्यस्ता हल्ला फैलिएको कांग्रेसका केही सांसदहरूले समेत स्वीकार गरेका छन् ।

बागमती प्रदेशमा नेपाली कांगे्रसका प्रदेश सभपति समेत रहनु भएका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री लामाका बिचमा कांग्रेसले प्राप्त गर्ने समय अवधिमा बराबर समय मुख्यमन्त्री आलोपालो गरेर चलाउने भन्ने सहमती भएको भनिए पनि अहिले सम्म दुइजनाका बिचमा भएको भनेको लिखीत सहमती बाहिर आएको छैन । मुख्यमन्त्री परिवर्तन हुने भनेर बारम्बार तर्क भने हुने गरेको छ । तर, भइरहेका मुख्यमन्त्रीलाई परिवर्तन गरेर फेरी कांग्रेसकै अर्का नेता बानियाँलाई मुख्यमन्त्री बनाउने भनेर केन्द्रका नेताहरुले दवाव दिएको भन्ने जानकारी नआएका कांग्रेसकै केही नेताहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*