हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन, अध्ययन गर्न भूगर्भविद् आउने 

जनपत्र
२१ बैशाख २०८२, आईतवार १७:४४

हेटौँडा । हेटौँडामा जमिन भासिएर शुक्रवार अपराह्न एक्कासी बेपत्ता भएको गाडी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।

ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार रोकिराखेको अवस्थामा अगाडीको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो ।

गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको गाडी मालिक समेत रहेका गाडीका चालक हरेराम राईले जानकारी दिएको प्रवक्ता अर्यालले बताए ।गाडी भासिएको नजिकै माछापालन गरिएको ५ वटा पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिएको हुनसक्ने अनुमान लगाइएको छ ।

जमिनमा भासिएको गाडी खोजीका लागि शनिवार दिनभर दुई वटा पानी तान्ने मोटरले पानीलाई निकाल्दा समेत गाडी फेला नपरेपछि आइतबार गाडी भासिएको छेउमा रहेको पोखरीबाट माछा र पानी निकाल्ने काम भइरहेको छ ।

उक्त पोखरीको माछा र पानी खाली गरेपछि गाडी भासिएको स्थानमा गाडीको खोजी गर्न सहज हुने विश्वास गरिएको छ ।

अध्ययन गर्न भूगर्भविद् आउने 

यसैबिच उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय भएको छ ।  हेटौँडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठक डाकेर उक्त स्थानको अध्ययनका लागि भुगर्भविदलाई बोलाउने निर्णय भएको उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए ।

उपमेयर बानियाँले तत्कालका लागि गाडी भासिएको स्थानको भौगोलिक अवस्थाको बारेमा अध्ययन नगरी केहि भन्न र गर्न नसकिएको बताए । आइतबार दिउँसो गाडी भासिएको स्थानको अवलोकन गर्नुका लागि उपमेयर बानियाँसहित हेटौँडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालासमेत पुगेका थिए ।  उनीहरुले थप कुनै दुर्घटना नहोस् भनेर उपमहानरपालिका सचेत रहेको र नगर प्रहरीलाई तैनाथ राखिएको जानकारी दिए । रातोपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*