हेटौडा- १२ घिसिङ टोलमा स्ल्याब ढलान सुरु

जनपत्र
१ चैत्र २०८१, शनिबार १७:१०

हेटौडा / हेटौडा-१२ स्थित बीचरोड देखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु भएको छ।
उक्त योजनाको बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु भएको हो।

निर्माण कार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवं सांसद श्रेष्ठले बजेटको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिनुभयो। उहाँले हेटौडा उपमहानगरमा पछि गाभिएका वडाहरूको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

१२ नम्बर वडाका निर्वाचित वडा सदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौडा १२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरू पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा गर्नुभयो। साथै आगामी वर्षमा पनि अन्य थुप्रै योजनाहरूको लागि समेत आग्रह गर्नुभयो।

यस योजनामा हेटौडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बिरन घिसिङले जानकारी दिनुभयो।

कार्यक्रममा हेटौडा १२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगर लगायतको सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*