हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड निर्माण नहुँदा सुरक्षा चुनौती

जनपत्र
३० फाल्गुन २०८१, शुक्रबार ०८:३९

 हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ । अमेरिकी सरकारको सहयोगमा स्थापना भएको देशकै ठुलो औद्योगिक क्षेत्रमा पर्खाल निर्माण नहुँदा सुरक्षामा चुनौती भएको हो । ६१ वर्षअघि निर्माण गरिएको औद्योगिक क्षेत्रमा पर्खाल निर्माण भएको छैन । औद्योगिक क्षेत्रको बिचबाट मकवानपुरको पूर्वी क्षेत्रमा जाने सडक निर्माण गरिएको छ । बर्सौंदेखि सवारी सञ्चालन भइरहेको यस सडकको दायाँबायाँ औद्योगिक क्षेत्र रहेको छ ।

२५ मिटर सडक विस्तारमा अलमलका कारण हेटौँडामा रहेको औद्योगिक क्षेत्रमा निर्माण गरिने भनिएको वाल निर्माण अन्योलग्रस्त बनेको हो । चारैतिर खुला भएका कारण यहाँका सुरक्षाकर्मीले सुरक्षा दिन कठिन हुने स्थानीयको भनाइ छ । पर्खालकै कारण सुरक्षामा चुनौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक सगीता कुँवरले बताउनुभयो ।

खुला भएका कारण सहजै आवतजावत हुने र भएकाले सुरक्षा दिन समस्या भएको उहाँले बताउनुभयो । हेटौँडाको बाटो बिस्तार नभएसम्म पर्खाल निर्माण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । हाल हेटौँडा औद्योगिक क्षेत्रमा १४३ उद्योग रहेका छन् तर ११५ वटा सञ्चालनमा रहेका छन् । यहाँ पाँच वटा उद्योग बन्द अवस्थामा छन् ।

सरकारी कार्यालय, सङ्घ संस्थाका १३ वटा कार्यालय छन् । हाल १० वटा उद्योग निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा यहाँ दुई वटा नयाँ उद्योग थपिएको कार्यालय व्यवस्थापक कुँवरले जानकारी दिनुभयो । यहाँ निर्माण सामग्रीका सात, प्लास्टिकजन्य ३१, विद्युतका चार, खाद्यान्न तथा पेय पदार्थका १४, फर्निचरका छ, इन्जिनियरिङ सेवाका १२, प्याकेजिङका पाँच, केमिकल तथा रङरोगन उत्पादनका ११, पोल्ट्री दुई, खानीजन्य तीन, टेक्सटाइल एक र अन्य ११ वटा उद्योग रहेका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष रूपमा पाँच हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*