हेटौंडामा राष्ट्रिय निर्माण महोत्सव सुरु
हेटौँडा। निर्माण व्यवसायी सङ्घ मकवानपुरले हेटौँडामा आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ सुरु भएको छ। महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मङ्गलबार हेटौँडामा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
निर्माण उद्योगको प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त महोत्सवमा निर्माण उद्योगसँगै औद्योगिक, पर्यटन, कृषि, हस्तकलालगायत स्थानीय उत्पादनका तीन सयभन्दा बढी स्टल छन् ।
हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा सुरुभएको महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, सूचना प्रविधि, कपडा, विभिन्न खानाका परिकार, हस्तकला लगायत उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।
आयोजक संस्था निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष बाल गोपाल कँडेलले महोत्सवले क्रेता र बिक्रेताबिच प्रत्यक्ष सम्पर्क, छलफल र विचारको आदानप्रदान हुने बताउँदै मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुतिसमेत हुने बताउनुभयो । महोत्सवमा गायन क्षेत्रका नयाँ प्रतिभाहरुको खोजीको क्रममा हेटौँडा आइडलसमेत हुनेभएको छ । महोत्सव यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।







