निजीकरण गर्न लागिएका हेटौंडा सिमेन्ट उद्योग र कपडा उद्योगसंग कति छ सम्पत्ति ?

जनपत्र
१२ कार्तिक २०८१, सोमबार ०७:२२

हेटौंडा । सरकारले आठ वटा सार्वजनिक संस्थान निजी क्षेत्रलाई सञ्चालन गर्न दिने सिफारिस गरेको छ । निजीकरण ऐन अन्तर्गत अर्थमन्त्रीको नेतृत्वको समितिले गरेको सिफारिस अनुसार हाल सञ्चालित अवस्थामा रहेको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग तथा बन्द रहेका नेपाल मेटल कम्पनी, जनकपुर चुरोट कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग निजीकरण हुनेछन् ।

अहिले निजीकरणका लागि तयारी गरिएका सबै संस्थान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका छन् । ती उद्योगहरू निजीकरणको सिफारिस गर्ने निर्णय गर्दा उद्योगमन्त्री दामोदर भण्डारी पनि बैठकमा आमन्त्रित थिए । यसले निजीकरणसम्बन्धी निर्णयमा सो मन्त्रालय समेत सहमत देखिन्छ । त्यसो त चालु आर्थिक वर्षको बजेटमै ती उद्योगलाई निजीकरण गर्ने कार्यक्रम राखिएको थियो ।

हेटौँडा सिमेन्ट उद्योग

मकवानपुर जिल्लाको लामसुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योग पनि सरकारको पूर्ण स्वामित्वको कम्पनी हो । ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको उद्योग २०३३ सालमा स्थापना भएको हो । अहिले उद्योगसँग दैनिक झन्डै ९०० मेट्रिक टन ९१८ हजार बोरा० सिमेन्ट उत्पादन गर्ने क्षमता छ । उद्योगको स्वामित्वमा लामसुरे हाइटमा ५७ बिघा जग्गा छ ।

वित्तीय रूपमा यो उद्योगसमेत ठुलो नोक्सानीमा छ । आर्थिक वर्ष २०७९र८० सम्म यसको सञ्चित नोक्सान १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यसपछिका दुई वर्षमा समेत उद्योगले क्रमशः २५ करोड र १२ करोड नोक्सानी बेहोरेको थियो । यो उद्योगको प्रमुख बजार काठमाडौँ, हेटौँडा, चितवन, पोखरा लगायत रहेको छ ।

 हेटौँडा कपडा उद्योग

२०३२ सालमा चीन सरकारको सहयोगमा स्थापित हेटौँडा कपडा उद्योग २०७५ सालदेखि बन्द अवस्थामा छ । त्यतिबेला उद्योगसँग ३४३ रोपनी जग्गा थियो जुन अहिले हेटौँडा औद्योगिक क्षेत्र अन्तर्गत पर्छ, जसको व्यवस्थापन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गर्दै आएको छ ।

केही वर्ष अघिदेखि नेपाली सेनालाई यो उद्योग सञ्चालन गर्न दिनेबारे छलफल चलेको थियो । अहिले यसलाई निजीकरणमा लैजाने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*