हेटौँडा सिमेन्टको उत्पादन १९ दिन देखि बन्द, मर्मत गरेपछी तिहारपछी खुल्छ– अध्यक्ष भण्डारी
हेटौंडा । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै १९ दिन देखि उद्योगको उत्पादन बन्द गरेको छ ।
उद्योगको क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यावस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
उपकरण मर्मत सकिएलगत्तै तीहारपछी उत्पादन सुरु गरिने उनले बताए । भारतबाट उद्योग मर्मत गर्ने श्रमिक बोलाउनुपर्ने हुँदा अली समय लागेको अध्यक्ष भण्डारीले बताए । ‘उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्ने उद्योगका कर्मचारीहरु बताउँछन् ।
उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकामा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले रु एक अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो।
हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । उद्योगसँग दैनिक क्षमता १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ।







