कहिल्यै सुध्रिएन मकवानपुरका राजमार्गका होटलको अवस्था

जनपत्र
१ आश्विन २०८१, मंगलवार ०८:११

हेटौंडा । मकवानपुरमा पर्ने राजमार्गका होटलहरुले यात्रुहरुलाई खाना खुवाउँदा स्वस्थ खाना नखुवाएको गुनासो बढ्न थालेको छ । मकवानपुरको मनहरी देखिबाट हेटौंडा बजार क्षेत्रमा पर्ने पूर्व पस्चिम राजमार्ग, हेटौंडा काठमाण्डौंं छोटो दुरीमा रहेको भीमफेदी, कुलेखानी, सिस्नेरी सडक खण्डका होटलहरुमा स्वस्थ खाना खान नपाएको यात्रुहरुको गुनासो बढेको हो ।

चाडपर्वको बेला सहरबाट गाउँ जानेको सङ्ख्या निकै बाक्लिन्छ । राजमार्गबाट यात्रा गर्ने यात्रुलाई बाटोमा खाजा तथा खाना भनेजस्तो भेट्टाउन मुस्किल पर्छ । गाडी चालकले गाडी रोकेको होटलहरुमा जस्तो भेट्यो त्यस्तै खाएर हिँड्नु पर्ने बाध्यता छ । किनभने अधिकांश गाडी रोक्ने स्थानमा एक, दुईबाहेक होटल हुँदैनन् ।

यस्तो मौका छोपेर मकवानपुरको राजमार्गका होटल तथा खाजा पसलमा बासी तथा सडेगलेका खानेकुरा बिक्री गर्ने प्रवृत्ति छ । त्यस्ता होटलमा बासी, सडेगलेको, बढी चिल्लो प्रयोग गरिएका खानेकुरा हुन्छन् । यस्ता खानेकुरा खाएर यात्रु बिरामी नै पनि पर्छन् । तर यसबारे अनुगमन नै गर्न सकेको छ । न त नियमन नै । राजमार्गको होटलमा रात्री बस मार्फत काठमाण्डौंबाट बिरगन्ज जान लागेका बिरगन्ज–४ का यात्रु बिशाल साहले हेटौंडा क्षेत्रमा पर्ने राजमार्गका होटलमा अस्वस्थकर खाना खान बाध्य भएको बताए ।

अन्य बजार अनुगमनको विषयमा निकै चर्चा हुने गरेको छ । तर यो राजमार्गका होटल तथा खाना, खाजा पसल अनुगमनको विषय उठान हुन पनि सकेको छैन ।
चाडपर्व लक्षित बजार अनुगमनलाई मकवानपुर प्रशासन र हेटौंडा उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ । चाडपर्व अघि खाद्यान्न पसल, किराना, माछामासु, फलफूल कपडा, मिठाइ पसल लगायतका विभिन्न पसलहरूमा अनुगमन गरिन्छ । तर राजमार्गहरूमा सञ्चालित होटल तथा खाना पसलहरूको अनुगमन गरिएको पाइँदैन । यस कारण पनि राजमार्गका होटलहरुमा मनलाग्दी बढेको हेटौंडा–४ का श्यामकृष्ण घिमिरे बताउँछन् ।

यस्तो अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको जिम्मेवारीभित्र रहेको तर विभागले उजुरीका आधारमा मात्रै अनुगमन गर्दै आएको छ ।
‘राजमार्ग हुँदै निरन्तर मानिसहरू आवतजावत गरिरहन्छन् । गन्तव्यमा पुग्न हतार भइरहेको हुन्छ र मानिसहरू हतार गरेर खान आउँछन्, चालकले कुनै सेटिङ भएको होटलमा लगेर यात्रुहरुलाई ओरालेर खाना खुवाउने गरेको छ । यसकारण पनि समस्या हुने गरेको यात्रुहरुको भनाई छ ।

चाडपर्वको समयमा राजमार्गमा भिडभाड बढ्छ । हतारमा काम र धेरै व्यापार गर्ने मनसायले भान्सा सरसफाइ नगर्ने प्रवृत्ति पनि बढेको हुन्छ । त्यसकारण चाडपर्वमा राजमार्गका होटल, पसलहरूमा अनुगमन गर्न अत्यावश्यक भएको छ । यस्तै यस्ता होटलहरुमा एक पटक अनुगमन गरिसकेपछि फेरि गल्ती दोहोर्याउन नसक्ने गरी अनुगमन गरिनुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*