कर्मचारी सरुवाको झमेलामा बागमती प्रदेशका मन्त्रालय, मालदार कार्यालयमा जान कर्मचारीको दौडधुप

जनपत्र
३१ श्रावण २०८१, बिहीबार ०८:१४

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सबैजसो मन्त्रालयमा कर्मचारी सरुवा गर्ने समय भएको छ । मुख्यमन्त्री देखि मन्त्रीहरु सम्मले आफ्ना नजिकका कर्मचारी ल्याउन लागिपरेका छन् । कर्मचारीहरु भने मालदार कार्याल्यमा जानका लागि हानाथाप गरिरहेका छन् ।

सरुवा गर्ने अवधि पुगेका र नपुगेका कर्मचारीहरु पनि यही भदौ देखि असोज सम्म आफ्ना मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट हुने सरुवामा चलखेल समेत गर्न थालेका छन् । प्रदेशका कुनैपनि मन्त्रालय र मातहतका कार्यालयमा जानका लागि प्रदेशका कर्मचारीहरुको दौडधुप चलिरहेको छ । मन्त्रालयका सचिब भेट्ने देखिलिएर मन्त्री भेट्ने काममा धेरै कर्मचारी व्यस्त रहेका छन् ।

सरुवा गर्नुपर्ने अवधि पुगेका कर्मचारीहरुलाई सरुवाको काम सुरु गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्र बहादुर अर्यालले बताए । अन्तरमन्त्रालयमा सरुवा गर्ने जुनसुकै तहका कर्मचारी र उपसचिब भन्दा माथीका कर्मचारी प्रदेशको मुख्यमन्त्री कार्यालयले सरुवा गर्ने उनले बताए ।

बिशेषगरी आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगतका लेखा साखामा काम गर्ने कर्मचारीहरु, प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तरगतका यातायात कार्यालयमा कार्यरत कर्मचारीहरु, स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीहरु, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका कार्यालयमा कार्यरत कार्यालय प्रमुख तथा प्राबिधिकहरु, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीहरु, वन तथा वातावरण मन्त्रालय अन्तरगतका डिभिजन वन कार्यालयमा कार्यरत कार्यालय प्रमुख तथा कर्मचारीहरु आफ्ना अनुकुलका कार्यालयमा जानका लागि दिनरात नभनीकन लागिपरेका छन् ।

आफ्नो अनुकुलको कार्यालयमा मात्र नभइकन तलब भत्ताका अतिरिक्त थप रकम आमदानी गर्न सक्ने कार्यालयमा जानका लागि लागिपरेका छन् । बिशेषगरी यातायात कार्यालय, पूर्वाधार मन्त्रालय अन्तरगतका कार्यालय र लेखा साखामा कार्यारत कर्मचारीहरु भने आफ्ना अनुकुलका कार्यालयमा जानका लागि मोटो रकम खर्च गरेर पनि जान तयार रहेका छन् । लेखा समुहले छानेका सबै भन्दा धेरै कमाउन सकिने कार्यालयलाई क क्षेणि, ख क्षेणि, ग श्रेणिमा आफै विभाजन गरेर त्यस अनुसार रकम खर्च गरेर समेत जानका लागि मरिहत्ते गरेका छन् ।

लेखाका कर्मचारीहरु धेरैजसो भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका कार्यालयमा जान खोज्ने र काठमाण्डौं उपत्यका भित्र जान चाहनेहरु धेरै रहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले बताए । एउटै कार्यालयमा जानका लागि धेरै लेखाका कर्मचारीहरुको हानथाप भएको र बारम्बार सरुवाका विषयमा कर्मचारीहरुको भेटका कारण पनि समस्या भएकाले अब गोला प्रथाबाट सरुवा गर्ने विषयमा मुख्यमन्त्रीसंग छलफल भइरहेको मन्त्री काफ्लेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*