२० करोडको लागतमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सुविधा सम्पन्न भवन
हेटौंडा । हेटौंडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रशासनिक भवन समुद्घाटन सम्पन्न भएको छ । आज आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले भवनको उद्घाटन् गरे ।
कार्यक्रममा माननीय आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, स्वास्थ्य मन्त्री किरण थापा मगर, माननीय खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्का, माननीय युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, विना विभागीय मन्त्री मधु कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार एक समारोहबीच वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।
साढे ५ तले उक्त भवन पार्किङसहितको सुविधायुक्त छ । २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको भवनमा १ सय ३२ कोठा रहेका छन् । प्रहरी संगठन प्रदेश सरकारको मातहतमा आइनसकेको भए पनि वाग्मती प्रदेश सरकारले प्रहरी संगठनलाई सवल र सक्षम बनाउन भवन निर्माणदेखि सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ ।
‘मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने मुख्य दायित्व प्रहरीको हो,’ भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘त्यसैले प्रहरी संगठनलाई सक्षम र सबल बनाउन सकेमा समाजमा आपराधिक घटना पनि न्यून हुन्छन् ।’ प्रदेश सरकारले विगतदेखि नै प्रहरी संगठनलाई सवल र सक्षम बनाउन सहयोग गर्दै आएको पनि उनले बताए ।
नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी उक्त भवन निर्माण गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले बताए ।
वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाले विनियोजित गरेको रकमबाट पहिलो चरण अर्थात् ०७५/०७६ मा ४६ वटा प्रहरी इकाइ भवनहरूको निर्माण कार्यको थालनी गरिएको थियो । आव २०७७/०७८ मा पहिलो चरणका भवनहरूको निर्माण सम्पन्न गरी दोस्रो चरणमा १९ करोड ४१ लाखको लागतमा २१ वटा प्रहरी चौकी भवन निर्माण गरेको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेश सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रमा ६२ वटा प्रहरी इकाइ भवनहरूको निर्माण गरिसकेको छ भने ३ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । आव २०७९/०८० मा विनियोजित रकमबाट तेस्रो चरणअन्तर्गत ४ वटा प्रहरी इकाइ भवनहरूको निर्माण कार्य धमाधम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आव ०८०/०८१ मा वाग्मती प्रदेश प्रहरी अस्पतालका लागि पनि टेन्डर आह्वानको प्रक्रिया अगाडि बढाइएको छ ।







