हेटौंडा १ र १९ का ७ सय परिवारलाई पानीको पीडामा मल्हम लगाइदै
मकवानपुर । कक्षा ५ मा पढ्ने सपना लामा बिहानै प्लाष्टिकको बोटलमा पानी ओसार्छिन । घरको लागि केही बोटल र आफूलाई स्कुल लैजान १ वा २ बोटल पानी जम्मा गरेपछि सुरु हुन्छ उनको स्कुलको तयारी । घर नजिकै धारा छैन । न त स्कुलमा पानीको व्यवस्था छ ।
घरमा पनि पानी चाहियो स्कुलमा पनि त चाहियो । गर्मीको मौसम छ, छिन छिनमै प्यास लाग्छ, तर पानी छैन । उनी सरस्वती प्राविमा अध्ययनरत छिन् । “हामीलाई पानीको सुविस्ता (व्यवस्था) भएमा तिर्खाएर बस्नु पर्ने थिएन्” उनले भनिन् “कहिले त आफूले लगेको पानी सकिन्छ, साथीहरुको बाँकी भएमा बाँडिबाँडि खान्छौ ।” खोल्साको पानी भरेर खाने गरेका उनीहरुलाई घरबाट त्यै खोल्साको पानी ओसार्न पौने एक घण्टालाग्छ ।
स्कुले जीवनमा किताब कापीभन्दा पानी अनिवार्य गरेर बोकेको स्मरण गर्छन हाल कक्षा १० मा अध्ययनरत दिनेश सिङ्तान पनि । “शहरको स्कुलमा जस्तो यहाँ गाउँमा कहाँ धारा हुनु र, स्कुलमा खानकै लागि पानी हुदैन, ट्वाइलेटहरुमा झन् के कसरी पाउनु हुनु” उनले भने ।
“नजिकै छैन, धाउनु पर्छ, गर्मीमा खोल्साको पानी पनि सुकेर सानो हुन्छ, भर्न झन् धेरैबेर लाग्छ” स्थानीय नाम्ग्याल लाल सिन्तानले भने । यो पीडा कुनै विकट गाउँपालिकाको हैन, हेटौंडा उपमहानगरपालिकाको वडा न १ को शिखरकोट, बाँझोडाँडा, हुमारे, देउराली बसन्त, भालुखोला, आरनचौर, कालिटार नर्कौली, लालडाडी, लामीडाँडा, भैरवडाँडाका स्थानीयहरुको हो ।
जहाँ वर्षायाममा नै पानीको सहज हुदैन, हिउँद सुरु हुँदा नहुँदै पानीको हाहाकार सुरु हुने गरेको छ । वर्षको मौसममा भने उनीहरुले आकाशे पानी नै विभिन्न प्रयोजनमा लगाउँछन् र आफ्नो दैनिकी केही सहज बनाउँछन् ।
“हामीले वर्षौदेखी यो समस्या समाधानको लागि कोशिस गरेका हौ” सिङ्तानले भने “सुनुवाई भएन । दुईवर्ष अघिबाट भने खानेपानी तथा सरसफाई डिभिजन १ हेटौंडा कार्यालयमार्फत खानेपानी योजनाको काम सुरु गरिएको छ । लेखपानी दुपारे भैरवडाँडा खानेपानी योजना मकवानपुर हेटौंडा १ र १९ अन्तरगत यहाँका ७ सयभन्दा बढी घरधुरीले पानीको पीडामा मल्हम लगाउने छन् । आगामी आर्थिक वर्षसम्म यो योजना पुरा हुनेमा स्थानीयले आशा प्रकट गरे ।
यसको लागि चालु आर्थिक वर्षको लागि १८ लाख बजेट विनियोजन गरिएको थियो । क्रमागत योजना अन्तरगत यो योजनाको २ वर्ष अघिबाट थालिएको हो । कुल ७ सय घरधुरी भन्दा बढी लाभग्राही रहेको यस योजना अन्तरगत शिखरकोट, बाँझोडाँडा, हुमारे, देउराली बसन्त, भालुखोला, आरनचौर, कालिटार नकौली, लालझाडी, लामीडाँडा, भैरवडाँडाका स्थानीयहरु लाभान्वित हुनेछन् ।
“एक गाग्रो पानीको लागि हामीले ३ घण्टा परिश्रम गर्नुपर्छ, यो योजना पुरा भएपछि त हामीलाई घरैमा स्वर्ग हुनेछ” शिखरकोटका रामबहादुर मोक्तानले भने । उनीहरुको वस्तिमा पानीको लागि पुण्यक्षेत्रमन्दिर नजिकैको खोल्साबाट पानी ओसार्नुपर्ने अवस्था रहेको उनले बताए । “सबैकाम छाडेर पानी ओसार्नुपर्छ, गाई बस्तुलाई पानी दिन झन् समस्या छ, आफूहरुलाई त धेरै धौ छ पानी ल्याइपु¥याउन” शिखरकोटकी मैयासानी थोकरले भनिन् “बिरामी हुँदा पनि पानी त ओसार्न पर्छ ।”

आफ्नो जीवनको सबैभन्दा बढी दुख र पीडा पानीकै लागि गरिएको घ्याङ्सिङटरकी टावलसी घलान बताउँछिन् । “कहिलेले बस्ति नै छोडेर बसाइ हिडौं झै लाग्छ, तर अन्त जान पनि पैसा चाहियो, हामी दुई छाक टार्नकै लागि दैनिक श्रम गर्नेलाई सुविस्ता भएको ठाउँमा कसरी जाने रहर रहरमात्रै हो ?” टावलसीले भनिन् । सरकारले जनताको पीडालाई आफ्नै ठानेर विकास निर्माणमा ध्यान दिनु पर्ने खानेपानी योजनाको स्थानीय उपभोक्ता समिति सचिव नाम्ग्याल लाल सिन्तानले बताए ।
“चुनाव आउँदा सबै पीडा सरकारले लिएर हामीलाई स्वर्ग जस्तै सुख देलान् झै गर्छन्, मत गनेपछि उहाँहरुलाई हाम्रो याद गर्ने समय नै नहुने रहेछ” उनले भने । सुगम स्थानमा विभिन्न गैससहरुले पनि कार्यक्रम लैजाने गरेको तर विकाटलाई सबैले बिर्सनले गरेको उनले बताए । लामो समयमो संघर्षपछि बागमती प्रदेश सरकार अन्तरगत यो योजना पाएकोमा उनले खुसी प्रकट गरे ।
हाम्रो गाउँमा न बजारको सुविधा छ, न बाटो–पानीको सरकारले पनि हामीलाई सपना मात्रै देखाउँदै आएको थियो, अब पानी चाही सहज पिउन पाइन्छ कि भनेर आशा जागेको छ” नकौलीका स्थानीय जय बहादुर मोक्तानले भने “यो पानी मात्रै घरघर झरिदिए हामीले सरकारको जय जय गर्नेछौ ।”
हालसम्म यस योजना अन्तरगत यसवर्ष भैरवडाँडामा ५० घर र नकौली डाँडामा ६० घरलाई पानी वितरण गरिसकिएको सचिव नाम्ग्याल लाल सिन्तानले बताए । यसैवर्ष १०० घनमिटर क्षमताको पानी ट्याङ्की निर्माण सकिएको छ । यसैगरी ७५ घनमिटरको ट्याङ्की निर्माणको कार्य भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन १ कार्यालय मकवानपुरको सूचना अधिकारी सव इञ्जिनियर राजन सापकोटाले बताए ।

अन्य क्षेत्रहरुमा पाइप लाइन विस्तार गर्ने, पाइप विछ्याउने कार्य जारी रहेको सापकोटाले बताए । सापकोटाका अनुसार नकौली र भैरवडाँडा बाहेक अन्य विभिन्न टोलहरुमा समेत गरी हाल झण्डै २०० घरधुरी पानी प्रयोग गर्न थालिसकेका छन् ।
यसै योजना अन्तरगत अघिल्लो आर्थिक वर्षमा २०० घनमिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको थियो । यसैगरी पानीको मुहानमा इन्टेक निर्माण, पानी तान्नको लागि विद्युत विस्तारलगायतको काम पनि अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरिएको थियो ।
पिउने पानीको लागि रातभर आनन्दले निदाउन नपाउने स्थानीयहरु अब घरैमा पानीको धारा भएपछि आफ्नो समयमात्रै हैन परिश्रम र दुख गर्नु नपर्ने भएपनि स्थानीयहरु खुसी छन् ।
अहिले खानेपानी डिभिजनले पम्पिङ्ग सिस्टमबाट खानेपानी सन्चालन भएका योजनाहरुमा स्मार्ट ट्याङ्क निगरानी र नियन्त्रण प्रणाली जडान गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नंबर–१ कार्यालयका प्रमुख हरिराम पौडेलले बताए ।
उनले भने–‘यो नयाँ प्रविधि हो जसबाट आफ्नै मोबाइल बाटै टेंकीको पानीको सतह हेर्न सकिन्छ, मोटरलाई मोबाइलबाटै चलाउन तथा बन्द गर्न सकिन्छ । खानेपानीको मुहानमा तथा पम्प हाउसमा गइराख्न’ पर्दैन, घरमा, बजारमा, कार्यालयमा जहाँ बसेर पनी खानेपानीको मटर चलाउन तथा बन्द गर्न सकिन्छ । यस प्रणालीले खानेपानीको मोटरमा आउन सक्ने विभिन्न खतराबाट समेत सुरक्षित राख्छ । विहान, बेलुका पानी खोल्न र बन्द गर्नको लागि पानी टेंकी सम्म धाइराख्न’ पर्ने समस्या बाट मुक्त हुन सकिन्छ ।








