सिंगापुरे गोर्खा लाहुरेले समान अधिकार कहिले पाउने ?
यो हप्ता म र मेरो परिवार अष्ट्रेलियाबाट छोटो भ्रमणका लागि पूर्वी एशियाको सानो तर सुन्दर र धनी देश सिंगापुर पुगेका थियौं । नेपाली पासपोर्टमै भ्रमण गरिएकोले सिंगापुरमा नेपालीलाई भिसा लिनुपर्दैन । त्यसमाथि सिंगापुरमा चेक–जाँच पनि अन्य देशमा जस्तो कडाइका साथ नहुने रहेछ । सजिलै आउन–जान पाइने व्यवस्थित र आधुनिक प्रणाली ।
विकासको उच्च विन्दुमा रहेको यहाँ विश्वका अन्य धनी र चर्चित मुलुक अमेरिका, युके, अष्ट्रेलिया लगायतलाई समेत माथ खुवाउने गरी विकास भएको रहेछ । नेपाल पनि कहिले विकासको मार्ग पहिल्याउन सफल होला भन्ने विषयमा सोचमग्न भएँ । मन्त्रमुग्ध बनाउने गगनचुम्बी भवनहरू, पर्यटकीय ठाउँ र सुन्दरताले विश्वका मानिसलाई सहजै तानिरहेको आभास भयो ।
सुरक्षा र नियम पालनाको उच्चतम अभ्यास जुनसुकै मुलुकले पनि सिक्न लायक नै छ । विकास र सुन्दरतासँगै नेपाली भएकाले विश्वका कमै मुलुकले नेपाली वाहकलाई दिने ३० दिनसम्मको निःशुल्क भिसा र नेपालीप्रतिको प्रशंसासँग नेपाली युवाहरूले सिंगापुरमा गोर्खा रेजिमेन्ट मार्फत गरिरहेको ऐतिहासिक योगदान गाँसिएको छ । यस आलेखमा उक्त बहादुर गोर्खाली लाहुरेहरूले गरेको योगदान र भोगिरहेका समस्याको बारेमा चर्चा गर्नेछु ।
सिंगापुरे गोर्खा रेजिमेन्टमा नेपालीको पहुँच र योगदान
सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच भएको सन्धि मार्फत नेपाली युवा ब्रिटिश इन्डियन आर्मीमा भर्ती हुन पाउने सहमति भयो । दोस्रो विश्वयुुद्ध पछि जब भारत १९४७ मा स्वतन्त्र भयो, उक्त समयमा ब्रिटेन, भारत र नेपाल बीच भएको त्रिपक्षीय सम्झौता मार्फत ब्रिटेन र इन्डियामा गोर्खा रेजिमेन्ट रहने सहमति भएको थियो ।
ब्रिटिशले तत्कालीन समयमा आफ्नो अधीनमा रहेका मुलुकहरू जस्तै सिंगापुर, मलेशिया तथा हङकङमा गोर्खाली फौज खटाएको थियो । ब्रिटिश इष्ट इन्डिया कम्पनीमा भर्ना भई विभिन्न युद्ध मोर्चामा नेपालीले सशक्त लडाइँ लडेका थिए । उनीहरूले विश्वसामु साहसी र बहादुरको पहिचान बनाएका थिए, नाम कमाएका थिए ।
यही साहसको कदर गर्दै युकेले विभिन्न देश स्वतन्त्र भइसकेपछि पनि नेपालीलाई ब्रिटिश आर्मीमा भर्ती हुने क्रमलाई निरन्तरता दियो । केही संख्यामा हङकङमा र केही संख्या सिंगापुरमा गोर्खा रेजिमेन्टका नाममा भर्ती भई काम गरिरहेका छन् ।
स्वतन्त्रता पछि भने सिंगापुरले युकेसँग गोप्य सम्झौता मार्फत नेपालीलाई भर्ती गरी ९ अप्रिल १९४९ मा गोर्खा रेजिमेन्टको निरन्तरता गरिरहेको छ । अहिले करिब २००० को संख्यामा नेपाली लाहुरेले सिंगापुरमा काम गरिरहेका छन् । सेवा अवधिभरि पारिश्रमिक, परिवार र बालबच्चा सँगै लैजाने व्यवस्था भए पनि लाहुरेका श्रीमतीहरूले भने काम गर्न पाउँदैनन् ।







