गृहमन्त्रीलाई छानबिनमा तान्ने र जोगाउने प्रयास यथावत्

जनपत्र
१२ जेष्ठ २०८१, शनिबार ०७:४१

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि शीर्ष नेताहरूबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । भोलि शनिबार दिउँसो ३ बजे कार्यदलको बैठक बस्ने र सहकारीबारे छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने नेताहरू बताउँछन् ।

सूर्यदर्शन लगायतका सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि सत्तारुढ दलहरू संसदीय समिति बनाउन तयार भएका थिए । समितिको कार्यादेश तय गर्न कार्यदल बनेको छ ।

कार्यदलको चार वटा बैठक बस्दा पनि नेताहरूले कार्यादेश टुंगो लगाउन सकेका छैनन् । यद्यपि शुक्रबार बिहान बसेको बैठक सकारात्मक भएको दुवै पक्षका नेताहरू बताउँछन् ।

संसदीय समितिको कार्यादेशबारे भएको छलफल सकारात्मक रहेको भन्दै सत्तापक्षले शुक्रबार संसद्‌मा नियमित कार्यसूची अगाडि बढाएन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि अघिल्ला बैठकहरूमा जस्तो वेलमा आएर नाराबाजी गरेन ।

साँझ कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा लगायतका नेताहरु नेताहरु थिए ।

बैठकमा एमाले प्रमुख सचेतक बर्तौलाले कार्यदलमा भएको छलफल र कांग्रेसको पछिल्लो प्रस्तावबारे ब्रिफिङ गरे । शुक्रबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा कांग्रेसले संसदीय समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नलेखेरै जान सकिने प्रस्ताव राखेको थियो ।

गोर्खा मिडिया र प्रवन्ध निर्देशकसहितका पदहरु उल्लेख गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ । ‘गृहमन्त्रीजीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीहरुको नामहरुलाई समेटेर त्यसमाथि छानबिन गरेर जान सकिने गरीका आधारहरु निर्माण गरेर जाउँ भन्ने नयाँ प्रस्ताव ल्याउनुभएको छ’ बर्तौलाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*