मकवानपुर जिल्लामा वन डढेलो सचेतना सप्ताह मनाईदै

जनपत्र
२ चैत्र २०८०, शुक्रबार १८:४८

हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरले वन डढेलो सप्ताहको कार्यक्रमको सुरुवात गरेको छ । वन डढेलो सप्ताह कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालयको कार्यक्षेत्रका ३ देखि ५ वटा सामुदायिक वन सम्मिलित ४० वटा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । गठन भएको वन डढेलो नियन्त्रण सञ्जालले सामुदायिक वनहरुको समन्वयमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्नेछ ।

वन डढेलो नियन्त्रणको लागि हरित स्वयम् सेवक परिचालनको कार्य समेत गरिरहेको छ । डिभिजन वन कार्यालय मकवानपुर र मातहतका सब डिभिजन वन कार्यालय मार्फत वन डढेलो सचेतना सम्बन्धी स्कुल कार्यक्रम, र्याली, माईकिङ्ग, रेडीयो तथा पत्रपत्रका मार्फत सचेतना सामाग्री प्रकाशन तथा प्रशारण कार्यक्रमहरु जारी रहेको डिभिजन वन कार्यालय मकवानपुरका साहायक वन अधिकृत हेम कुमार पाठकले जानकारी दिनुभयो ।

यस बाहेक वन डढेलो जोखिम नियन्त्रणको लागि विभिन्न वन क्षेत्रहरुमा अग्नि रेखा निर्माण तथा मर्मत गर्ने, वन क्षेत्रमा झाडी सफाई लगायतका कार्यहरु मार्फत ज्वलनशील पदार्थहरु हटाउने कार्य समेत जारी रहेको उहाँले बताउनुभयो ।

यस वर्ष हिउँदे वर्षा कम भएको र अघिल्लो वर्षहरुमा वन डढेलो तुलनात्मक रुपमा कम लागेको कारण वन क्षेत्रमा ज्वलनशील पदार्थहरुको तह बढ्न गई वन डढेलोको जोखिम उच्च भएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र समन्वयमा ८ वटै सब डिभिजन वन कार्यालयको मातहतका सामुदायिक वनहरुमा प्रतिकात्मक डढेलो तथा नियन्त्रित वन डढेलो मार्फत वन डढेलो जोखिम कम गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको पाठकले बताउनुभयो । साथै डढेलो नियन्त्रण गर्ने सामाग्रीहरुको समेत व्यवस्थापन गरिएको छ ।

वन डढेलो नियन्त्रणको लागि अन्तर निकाय समन्वय गरिएको छ । वन डढेलो नियन्त्रणको लागि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, वन उपभोक्ता समूह, विद्यालय, पत्रकार लगायत सम्पूर्णमा अपिल जारी गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*