‘दिमाग खराब’ले ७ करोड कमाएको निर्माताको दाबी

जनपत्र
८ मंसिर २०८०, शुक्रबार १२:५१

बलिउड फिल्म ‘टाइगर ३’को चुनौतीका बावजूद तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म फिल्म ‘दिमाग खराब’ घरेलू बक्स अफिसमा बलियो पकड बनाएको छ । ओपनिङ कमजोर रहे पनि अब्बल ‘वर्ड अफ माउथ’ले तिहारको विदाबाट फिल्मले ‘पिकअप’ लिन थालेको थियो । यतिबेला ‘टाइगर ३’भन्दा राम्रो व्यापार गरिरहेको छ ।

शुक्रबारदेखि तेस्रो हप्तामा प्रदर्शन थालेको फिल्मको दुई हप्ते ‘कलेक्सन रिपोर्ट’ सार्वजनिक गरिएको छ । फिल्मले दुई हप्तामा ७ करोड ग्रस कमाई गरेको दाबी निर्माण कम्पनी सिनेमा आर्ट्सको छ । चलचित्र विकास बोर्डले गत असारपछि कुनै पनि फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक नगरेका कारण निर्माताले उपलब्ध गराएकै रिपोर्टलाई मिडियाले पनि आधार मान्नुपर्ने अवस्था छ ।

फिल्मले तेस्रो हप्तामा पनि मल्टीप्लेक्सहरुमा उल्लेख्य शोज पाएको छ । केहीमा त ‘टाइगर ३’भन्दा बढी शोज प्राप्त गरेको अवस्था छ । र, अकुपेन्सी पनि उच्च छ । ४ करोडमाथिको लागतमा निर्माण भएको फिल्मले घरेलू बक्स अफिसबाटै लगानी उठान भने ८ करोडमाथिको व्यापार गर्नुपर्ने हुन्छ । फिल्मप्रति दर्शकहरुको आकर्षण हेर्दा यो सम्भव देखिन्छ । फिल्म ‘सेमी हिट’ भैसकेको छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको अभिनय रहेको फिल्ममा रौनक विक्रम कडेल निर्मातामा छन् भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*