वैकुण्ठ अर्याल मुख्यसचिव, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

जनपत्र
१ असार २०८०, शुक्रबार ०७:३४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका डा। वैकुण्ठ अर्याललाई सरकारले बिहीबार मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेसँगै मुख्यसचिवमै रहेका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको छ ।

अर्याल यही ३ असारमा पाँचवर्षे सेवा अवधिका कारण सचिवबाट निवृत्त हुँदै थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कार्यरत रहेका उनी हाल कायम रहेकामध्ये वरिष्ठतम सचिव हुन् । सेवानिवृत्त हुन तीन दिनअघि मात्र सरकारले उनलाई मुख्यसचिव बनाएको छ ।

आगामी १४ असोजसम्म मुख्यसचिवको कार्यकाल रहेका बैरागीले राजिनामा दिएपछि अर्यालले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् । अर्याल ३ असार ०७५ मा सचिव भएका थिए । उनी सचिवको पाँचवर्षे कार्यावधिका कारण निवृत्त हुन लागेका थिए ।

कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउनेछैनन् । मुख्यसचिवको पदावधि तीन वर्ष हुने व्यवस्था छ । गत मंगलबार मन्त्रिपरिषद् बैठकले केही समयअघिको राष्ट्रिय सुरक्षा परिषद् निर्देशिका पारित गरेर बैरागीलाई नियुक्तिको बाटो खुलाएको स्रोतले बताएको छ । उनको कार्यकाल पाँच वर्षको हुनेछ । मन्त्रीसरहको सेवासुविधा पाउनेछन् ।

बैरागी पूरा अवधि मुख्यसचिव कायम रहेका भए अर्यालको सम्भावना नै थिएन । उनी असोजसम्मै रहेका भए नयाँ मुख्यसचिवको रोलक्रममा क्रमशः सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं र केवलप्रसाद भण्डारी आउँथे । तर, बैरागीले राजीनामा दिएपछि अर्याललाई नयाँ मुख्यसचिव बनाउँदा उनीहरूको सम्भावना समाप्त भएको छ ।

पुरानै रोग
कार्यकाल बाँकी छँदै मुख्यसचिवलाई लाभको पद दिलाएर राजीनामा गराउने र अनुकूलको नयाँ नियुक्ति गर्ने यो पुरानै रोग हो । सरकारले चाहेको सचिवलाई मुख्यसचिव बनाउन सक्ने भए पनि स्वार्थअनुकूल नियुक्तिको प्रक्रिया भने गलत रहेको प्रशासनविद्हरू बताउँछन् ।

यसअघि लोकदर्शन रेग्मीलाई कार्यकाल सकिनुअघि नै मुख्यसचिवबाट राजीनामा गराएर सरकारले वेलायतको राजदूतको नियुक्ति दिएर पठाएको थियो । ८ कात्तिक ०७४ मा मुख्यसचिव भएका उनले १४ असोज ०७७ मा राजीनामा दिएका थिए । बैरागीलाई मुख्यसचिव बनाउन अवकाशको २२ दिनअघि रेग्मीलाई राजीनामा गराएर राजदूत बनाएर पठाइएको थियो ।

कार्यकाल बाँकी छँदै एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक हुन सोमलाल सुवेदी राजीनामा दिएर हिँडेका थिए । २१ साउन ०७२ देखि २८ असार ०७४ सम्म उनी मुख्यसचिव थिए । यसबीचमा वरिष्ठताका आधारमा राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो । उनी ०७४ को २९ असारदेखि ६ कात्तिकसम्म मात्र मुख्यसचिव बनेका थिए ।

त्यसअघि आठौँ वरीयताका लीलामणि पौड्याललाई मुख्यसचिव बनाउँदा त कनिष्ठलाई मुख्यसचिव बनाइएको भनेर चारजना वरिष्ठ सचिवले राजीनामा नै दिएका थिए । २२ साउन ०६९ देखि २१ साउन ०७२ सम्म मुख्यसचिव बनेका पौड्याललाई पछि सरकारले चीनको राजदूत बनाएको थियो ।

‘मुख्यसचिव भएर स्वार्थमा काम गर्ने र अन्तिममा यसलाई धरौटी राखेर अर्को पदसँग बार्गेनिङ गर्ने यो प्रवृत्तिले देशमा कसरी सुशासन कायम हुन सक्छ रु’ एक सचिव प्रश्न गर्छन् । मुख्यसचिव भइसकेको व्यक्तिले त्यसको मूल्यमा अर्को नियुक्ति खोज्ने कुरा अत्यन्त स्वार्थी भएको उनी बताउँछन् । मुख्यसचिवले नै स्वार्थप्रेरित भएर पदलाई धरौटीमा राखी अर्को लाभ लिने कामले प्रशासनयन्त्रको छवि धुमिल पारेको अर्का सचिवको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*