ढुङ्गा, गिटी, बालुवा सङ्कलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने
सरकारले ढुङ्गा, गिटी, बालुवा सङ्कलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने भएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकूल नहुने गरी नदीजन्य वस्तुहरू– ढुङ्गा, गिटी, बालुवा सङ्कलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताउनुभएको हो ।
त्यस्तै नीति तथा कार्यक्रममा भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिँचाइ प्रविधिमार्फत वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराइने, सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयन गर्दै लगिने र ठूला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवम् शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाइने उल्लेख गरिएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रममा बृहत् बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तीव्रता दिइने, धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइने, सिँचाइका निम्ति विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाई विद्युत् महसुलमा छुट दिने उल्लेख गरिएको छ । राष्ट्रपतिले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटर पम्प तथा ट्युब वेल वितरण गरिने पनि बताउनुभयो ।







