बालकृष्ण खाँणको नेतृत्वमा भुटानी शरणार्थी प्रकरण सुरु भएको होः शंकर पोखरेल

जनपत्र
२ जेष्ठ २०८०, मंगलवार ०६:२७

एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर थियो।

पार्टीनिकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौँमा सोमवार आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे।

महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौतीसमेत दिए। मुलुकमा भएका ठुल्ठूला भ्रष्टाचारको काण्डलाई छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो।

उनले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोर्‍याए। उनले देउवा नेतृत्वकै तत्कालीन पाँचदलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरूलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*