धोनीको ब्याटिङ चलेपछि चेन्नईको जीत, दिल्लीको प्लेअफ सम्भावना समाप्त

जनपत्र
२८ बैशाख २०८०, बिहीबार ०७:०६

इन्डियन प्रीमियर लीग (आइपीएल) २०२३ को ५५ औं प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।

बुधवार राति एमए चिदम्बरम स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई जीतका लागि १६८ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीको पुरै टीम २० ओभर नै खेलेर आठ विकेटमा १४० रनमात्र बनाउन सफल भयो ।

चेन्नई सुपर किङ्सको जारी सीजनको १२ औं प्रतिस्पर्धामा यो सातौं जीत रह्यो र यो टीम अंकतालिकाको दोस्रो स्थानमा कायम छ ।
दिल्ली क्यापिटल्सले यो सीजनमो सातौं प्रतिस्पर्धा गुमाएको छ र यो टीम अंकतालिकाको पुछारमा छ । बुधवारको हारसंगै दिल्ली क्यापिटल्सको प्लेअफमा पुग्ने सम्भावना करिव समाप्त भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सको सुरुवात निकै खराब रह्यो । उसले २५ रनको स्कोरमै आफ्ना तीन विकेट गुमाइसकेको थियो । कप्तान डेविड वार्नरले खाता खोल्नै सकेनन् र इनिङको दोस्रो बलमै दीपक चाहरले अजिंक्य रहाणेको हातबाट क्याच आउट गराए । फिन साल्टले १७ रन तथा मिचेल मार्शले ५ रन बनाए । साल्टलाई दीपक चाहरले अम्बति रायडूको हातबाट क्याच गराए । मार्श भने दुर्भाग्यवश रन आउट हुन पुगे ।

त्यसपछि मनीष पाण्डे तथा रिलो रोसोले चौथो विकेटका लागि ५९ रन जोडेर इनिङलाई सम्हाले । मनीष पाण्डेलाई मथीशा पथिरानाले एउटा उत्कृष्ट योर्करमा एलबिडब्ल्यू आउट गरे । जबकि रोसोलाई रवीन्द्र जडेजाले आफ्नो शिकार बनाए । पाण्डेले २९ बला २७ रन तथा रोसोले ३७ बलमा ३५ रन बनाए । पाँच विकेट आउट भएपछि दिल्लीको इनिङ सम्हालिन सकेन र लक्ष्यसम्म पुग्न असम्भव झैं देखियो । चेन्नईको तर्फबाट मथीशा पथिरानाले ३७ रन दिएर तीन विकेट लिए भने दीपक चाहरलाई दुई सफलता प्राप्त भयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्न उत्रिएको चेन्नईको पनि सुरुवात राम्रो भएन । चेन्नईका लागि डेभोन कोन्वेले १० रन, ऋतुराज गायकवाडले २४ रन, मोईन अलीले ७ रन, अजिंक्य रहाणेले २१ रनको योगदान दिए । ७७ रनमा चार विकेट गुमाएको चेन्नइका लागि शिवम दुबे तथा अम्बति रायडूले ३६ रनको साझेदारी गर्दै एक सय रनको स्कोरसम्म पुर्याए । शिवम दुबेले १२ बलमा २५ रन तथा रायडूले १७ बलमा २३ रन बनाए ।

रायडू आउट भएपछि महेन्द्र सिंह धोनी तथा रविन्द्र जडेजाले अन्तिम ओभरहरुमा विष्फोटक ब्याटिङ गर्दै चेन्नईलाई १६७ रन बनाउन सहयोग गरे । धोनीले ९ बलमा २० रन बनाए भने जडेजाले २१ रन बनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*