खेलाडीलाई तलब र पुरस्कार रकम नदिएको एन्फाले पदाधिकारीको भने तलब बढायो

-एन्फा बैठकले पदाधिकारीमा सन्तुलन बनाउन तीन सहमहासचिवको प्रतिमहिना तलबमा २५ हजार रुपैयाँ वृद्धि गरेको छ -राष्ट्रिय फुटबल टोलीका खेलाडी पाँच महिनादेखि तलबविहीन मात्र बनेनन् च्याम्पियन भएबापत घोषित पुरस्कार रकमसमेत एन्फाबाट पाएका छैनन् 
जनपत्र
२६ बैशाख २०८०, मंगलवार ०७:२४

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार, पारिश्रमिक र भत्ता दिन सकेको छैन । तर, एन्फाको सोमबार बसेको आपत्कालीन बैठकले पदाधिकारीहरूको तलब वृद्धि गरेको छ । एन्फाले तीन सह–महासचिवको तलब २५ हजार रुपैयाँ बढाएको छ । यसअघि एन्फाले तीन सह–महासचिव बद्री भट्टराई, अरुणमान जोशी र वसन्त अर्याललाई ५० हजार रुपैयाँ प्रतिमहिना प्रदान गरेको थियो । अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले उनीहरूको प्रतिमहिनाको तलबमा २५ हजार वृद्धि गरेको हो ।

बम
यद्यपि, एन्फाले बैठकको निर्णय सबै सार्वजनिक गरे पनि तीन सह–महाससिचवको तलब वृद्धि उल्लेख गरेको छैन । एन्फाले यसलाई गोप्य रूपमा राखेको छ । जोशी थ्री स्टारका अध्यक्ष, अर्याल मोरङ जिल्ला फुटबल संघका प्रतिनिधित्व र भट्टराई निर्वाचन कमिटीका सदस्य हुन् ।

यसैगरी, एन्फा प्रवक्ता सुरेश शाहलाई ६२ हजार र सहकोषाध्यक्ष पूर्णमान चित्रकारलाई ३५ हजार मासिक तलब दिने एन्फाले निर्णय गरेको छ । एन्फाका महासचिव किरण राई धेरै तलब थाप्नेमा पर्छन् । उनको मासिक तलब एक लाख २० हजार रुपैयाँ छ । त्यसपछि प्रशासनिक रूपमा कार्यरत कोषाध्यक्ष रवीन्द्र जोशीले प्रतिमहिना ९५ हजार रुपैयाँ लिने गर्छन् ।

चार वर्षभित्र महासचिवको तलब ९५ हजारबाट एक लाख २० हजार रुपैयाँ पुर्‍याएको छ । तत्कालीन एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यकालमा महासचिवले प्रतिमहिना ६५ हजार ५ सय ५० रुपैयाँ लिन्थे । श्रेष्ठपछि अध्यक्ष भएका कर्माछिरिङ शेर्पाले महासचिवको प्रतिमहिना पारिश्रमिक एकैपटक ९५ हजारबाट एक लाख २० हजार पुर्‍याए । शेर्पाकै कार्यकालमा खेलाडी, कार्मचारी, रेफ्री तथा प्रावधिकहरूको मासिक तलब वृद्धि भएको थियो ।

पछिल्लो समय एन्फामा आर्थिक संकट उत्पन्न भएको छ । आर्थिक रूपमा कमजोर भएको एन्फाले गरेको पदाधिकारीको तलब वृद्धिको निर्णय राम्रो मानिएको छैन । एन्फा अध्यक्षले आन्तरिक विवाद मिलाउन यस्तो कार्य गरेको कार्यसमितिका एक सदस्यले बताए । ‘आर्थिक संकट परेका कारण नै एन्फाले खेलाडीलाई घोषित पुरस्कार, पारिश्रमिक, अभ्यास भत्ता र म्याच फी दिन सकेको छैन, यस्तो अवस्थामा पदाधिकारीको तलब वृद्धि हुनु भनेको निन्दनीय कार्य हो,’ उनले भने, ‘यो सबैलाई सन्तुलित राख्न काम भएको देखिन्छ, यस्तो किसिमको निर्णयले एन्फा आर्थिक रूपमै टाट पल्टिन सक्छ ।’

यसैबीच, बैठकले एन्फाको सन् २०२३ को बजेट ६७ करोड ८ लाख १५ हजार दुई सय २९ रुपैयाँ पारित गरेको छ । स्थानीय सरकार तथा सरोकारवालाहरूसँगको सहकार्यमा न्यूनतम ३ महिला एकेडेमी, दुई पुरुष र ६ वटा क्लबले सञ्चालन गरेको एकेडेमीको निरन्तर सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

खेलाडी पाँच महिनादेखि तलबविहीन
पदाधिकारीहरूको तलब वृद्धि भए पनि खेलाडीहरूले पछिल्लो पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । राष्ट्रिय फुटबल टोलीका पुरुष र महिला खेलाडीले पाँच महिनादेखि तलब नपाएका हुन् । उनीहरूको मासिक तलब समान १८ हजार रुपैयाँ छ ।

श्रेष्ठको कार्यकालमा पुरुष खेलाडीले १५ हजार र महिलाले सात हजार प्रतिमहिना तलबका रूपमा लिन्थे । निवर्तमान अध्यक्ष शेर्पाले महिला पुरुष खेलाडीको प्रतिमहिनाको तलब बराबर पुर्‍याएका थिए । ‘हामीले पाँच महिनादेखि एन्फाबाट तलब नै पाएका छैनौँ,’ राष्ट्रिय पुरुष टोलीका एक खेलाडीले नयाँ पत्रिकासँग भने, ‘खेलाडीले तलब नपाइरहेको अवस्थामा पदाधिकारीहरूको तलब वृद्धि हुनु राम्रो पक्ष होइन ।’

यसैगरी, एक खेलाडीले एक वर्षदेखिको अभ्यास भत्ता र म्याच फी नपाएको गुनासो नयाँ पत्रिकासँग गरेका छन् । ‘हामीले भत्ता नपाएको लगभग एक वर्षजति भयो,’ ती खेलाडीले भने, ‘एन्फा नेतृत्वले भत्ता, बाँकी पुरस्कारसँगै पारिश्रमिक भुक्तानी नगरेपछि हामीले बोल्नै छाड्यौँ ।’ सन् २०१७ को यू–१८ साफ च्याम्पियनसिप उपाधि जित्दा एन्फाले घोषणा गरेको दुई लाखमध्ये एक लाख पुरस्कार मात्र खेलाडीलाई दिएको छ । दक्षिण एसियाली खेकलुद ९साग०मा स्वर्ण पदक जित्दा घोषित पुरस्कार, महिला टोलीले साफ उपविजेता हुँदा, थ्री नेसन्स कप जित्दाको घोषित पुरस्कार रकम खेलाडीले अहिलेसम्म पाएका छैनन् । खेलाडीले मात्र नभएर रेफ्रीले समेत एन्फाबाट विगत पाँच महिनादेखि पारिश्रमिक नपाएको
जनाएका छन् ।

सन्तुलन मिलाउन शाही र खतिवडालाई पद
पछिल्लो समय एन्फाका उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडाले अध्यक्ष नेम्वाङको कार्यशैलीप्रति विरोध जनाउँदै आएका थिए । तर, नेम्वाङले यी दुवै पदाधिकारीलाई आफ्नो पक्षमा ल्याउन सफल भए । आपत्कालीन बैठकले शाही र खतिवडालाई ठूलो जिम्मेवारी सुम्पिएको छ । ए डिभिजन लिगको १६औँ चरण चलिरहँदा उपाध्यक्ष शाहीले लिग कमिटीको संयोजक जिम्मेवारी पाएका छन् । खतिवडालाई आपत्कालीन समितिको सदस्यमा मनोनयन गरिएको छ ।

नेम्वाङले कार्यसमितिमा सन्तुलन बनाउन आफूनिकट विकासनारायण श्रेष्ठलाई समितिको सदस्यबाट राजीनामा दिलाएका छन् । यसैगरी, खतिवडालाई मिसन फिफा महिला विश्वकप २०२७र०३१ को संयोजक बनाइएको छ । यस कमिटीमा सरिला श्रेष्ठ र पेमाडोल्मा लामा सदस्य हुन् । नेम्वाङले असन्तुष्ट पदाधिकारीलाई आफ्नोतिर ल्याउँदा बहुमत सदस्य पु¥याउने योजना सफल पारेका छन् । एएफसीले वैधानिक नमानेको १७ फागुनमा बसेको बैठकमा खतिवडा र शाहीसहित ११ केन्द्रीय सदस्यले अध्यक्ष नेम्वाङले डाकेको बैठक छाडेका थिए । नयाँपत्रिकाडेलीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*