आइपिएलमा राजस्थानविरुद्ध पुछारको हैदराबादको रोमाञ्चक जित
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइजर्स हैदराबादले ५ रनको रोमाञ्चक जित निकालेको छ । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १७ रन आवश्यक थियो । यो ओभरको पहिलो बलमा अब्दुल समदले २ रन जोडे । दोस्रो बलमा छक्का हिर्काएका उनले तेस्रो बलमा २ रन लिए । चौथो बलमा १ रन जोड्दै उनले मार्को जेन्सनलाई स्ट्राइक दिए ।
पाँचौं बलमा जेन्सनले १ रन जोडेपछि राजस्थानले जितको खुसीयाली मनाइरहेको थियो । तर, अम्पायरले छैटौँ बल ‘नो बल’ भएको संकेत गरे । नो बलमा अब्दुलले छक्का हिर्काउँदै हैदराबादलाई जित दिलाए ।
उनले ७ बलमा २ छक्कासहित अविजित १७ रन बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित भएका ग्लेन फिलिप्सले ७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा २५ रनको महत्वपूर्ण पारी खेले ।
यस्तै, अभिषेक शर्माले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५५ रन बनाए । राहुल त्रिपाठीले ४७, अनमोलप्रीत सिंहले ३३ र हेनरिक क्लासेनले २६ रनको योगदान दिए । राजस्थानका लागि युजवेन्द्र चहलले ४, रविचन्द्रन आश्विन र कुलदीप यादवले १र१ विकेट लिए ।
त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो । उसका लागि जोस बटलरले सानदार इनिङ खेले ।
५९ बलको सामना गरेका उनले ४ छक्का र १० चौकासहित ९५ रन बनाए । यस्तै, कप्तान सञ्जु सामसनले ३७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ६६ रनको पारी खेले ।
यशस्वी जैसवालले ३५ र शिमरोन हेटमायरले अविजित ७ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को जेनसनले १र१ विकेट लिए ।
यो जितपछि हैदराबाद अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ । उसले १० खेलमा ६ मा हार तथा ४ खेलमा जित निकालेको छ । चौथो स्थानमा रहेको राजस्थानले ११ खेल खेल्दा ५ मा जित र ६ खेलमा हार बेहोरेको छ ।






