मनाङको रोमाञ्चक जित
कीर्तिमान आठपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेर यो सिजन २०७९–८० को तयारी गरेको थियो । उनले आफ्नो टिम उपाधि दाबेदार नभएको बताइरहँदा सातौं चरणसम्म अपराजित रहेको मनाङले १५ अंक जोडेको थियो । त्यसपछि पहिलो हार खेप्यो । नतिजासँगै प्रदर्शनको हिसाबले पनि मनाङको स्तर खस्किँदै गयो ।
मनाङ यतिसम्म कमजोर बन्यो कि टोलीले पहिले कहिल्यै बहोर्नु नपरेको लगातार ६ खेलमा हारको लज्जास्पद यथार्थ सामना गर्नुपर्यो । सातदोबाटो, जावलाखेल, आर्मी, खुमलटार, पुलिस र चर्च ब्वाइज क्लबविरुद्ध हारेपछि मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिए । प्रशिक्षकको नाममा गोलकिपिङ कोच प्रवीन खन्छे श्रेष्ठमात्रै रहेको टिम मनाङले बुधबार दशरथ रंगशालामा आर्मीलाई १–० ले पन्छाउँदै हारको शृंखलालाई ६ खेलमा पूर्णविराम लगायो । कोफी टिमोथी कौडोले चार मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि मनाङले ३ अंक जोडेको हो । उनले विजय श्रेष्ठले दिएको बल दुई डिफेन्डरको बीचबाट अगाडि बढाउँदै पोस्टको दिशा दिएका थिए ।
यो जितसँगै मनाङले दशरथ रंगशालामै दुई साताअघि आर्मीविरुद्ध बेहोरेको १–० को हारको बदला पनि लियो । उक्त खेलमा सब्स्टिच्युट सुदील राईले दोस्रो हाफमा गोल गरेपछि विभागीय टिमले ३ अंक हात पारेको थियो । जिलेस्पीजंग कार्कीको हेडरमा क्रसबार बाधक नभएको भए खेलको कथा फरक हुनसक्थ्यो ।
जितसँगै मनाङ १८ अंक बनाएर शीर्ष ६ मा पुगेको छ भने आर्मी २० अंकसहित पाँचौं स्थानमा रह्यो । दशरथ रंगशालामै भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले फ्रेन्ड्समाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा रहेको जावलाखेल युवा क्लबसँग समान २४ अंक बनायो ।
अञ्जन विष्ट र आशिष चापागाईंले अन्त्यतिर गोल गरेपछि चर्च ब्वाइजले पछाडि परेको स्थिति उल्टाउँदै ३ अंक जोडेको हो । बेन नास क्वान्साले डोना थापाको फ्रिकिकमा हेडर गोल गर्दै १४ औं मिनेटमा फ्रेन्ड्सलाई अगाडि बढाएका थिए । तर, अञ्जनले पेनाल्टीमा गोल गर्दै ८७ औं मिनेटमा खेल बराबरी गरिदिए । त्यसपछि आशिषले इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई यो सिजनको छैटौं जित दिलाएका हुन् । यससँगै चर्च ब्वाइज र जावलाखेलको १४ खेलबाट २४ अंक भएको छ । हेड टु हेडमा अगाडि रहेको आधारमा जावलाखेल शीर्षस्थानमा छ । फ्रेन्ड्स (१५ अंक) भने सातौं हारसै रेलिगेसन क्षेत्रमा झरेको छ ।
च्यासल रंगशालामा हिमालयन शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गरेपछि फ्रेन्ड्स अन्तिम दुई स्थानमा पुगेको हो । खमिर गिल्सन कन्दङ्वाले ६६ औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पा १७ अंक बनाएर रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको हो । खुमलटार १४ अंकसहित अन्तिम स्थानमा रहेको छ । हिमालयन शेर्पाविरुद्ध ३ अंक जोड्न सकेको भए सातदोबाटो शीर्षस्थानमा पुग्थ्यो । तर, चौथो हारपछि २२ अंकमै सीतिम रहेको सातदोबाटो चौथो स्थानमा रह्यो । थ्रीस्टार २३ अंकसहित तेस्रोमा छ ।






