एनआरटीसँग हार्‍यो थ्रीस्टार

लिगमा तेस्रो हार बेहोरेको थ्रीस्टार १३ खेलमा २२ अंक जोड्दै दोस्रो स्थानमा छ।
जनपत्र
१६ बैशाख २०८०, शनिबार ०६:५४

न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एनआरटीले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको हो। एनआरटीलाई जित दिलाउन सञ्जीव विष्टले निर्णायक गोल गरेका थिए।

उनले खेलको ३७औं मिनेटमा गोल गरेका थिए। थ्रीस्टारका गोलरक्षकको हातबाट फुत्किएको रिबाउन्ड बललाई सञ्जीवले जाली चुमाएका थिए।

त्यसअघि थ्रीस्टारका सन्तोष साहुखल पेनाल्टीमा चुकेका थिए। एनआरटीका गौरव श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र पिटर सेगुनलाई लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो। जसलाई सन्तोषले गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार बाहिरिएको थियो।

जारी लिगमा एनआरटीको चौथो जित हो। १३ खेलमा १६ अंक जोडेको एनआरटी अंक तालिकाको आठौं स्थानमा छ। हारसँगै थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। लिगमा तेस्रो हार बेहोरेको थ्रीस्टार १३ खेलमा २२ अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्ष स्थानको जावलाखेलले १२ खेलमा २३ अंक जोडेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*