ओली, प्रचण्ड र देउवा आज बारा आउँदै : शीर्ष नेताको भाषणबाट मतदाता आकर्षित गर्ने रणनीति होला सफल?
बारा २ मा हुने बैशाख १० गतेको उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले पार्टीका शीर्ष नेतालाई जिल्लाका कार्यक्रममा सम्बोधन गर्न आमन्त्रण गरेका छन्। मतदाता आकर्षित गर्ने लक्ष्यका साथ निर्वाचनमा सहभागी पार्टीहरुले आफ्ना शीर्ष नेतालाई बाराका चुनावी कार्यक्रममा सहभागी गराइरहेका छन्।
चैत ७ गते पनि बाराको २ नम्बर क्षेत्रमा विशाल आमसभा आयोजना हुने भएको छ। बारा २ को उपनिर्वाचनमा नेकपा ९एमाले०बाट उम्मेदवार रहेका पुरुषोत्तम पौडेलको चुनावी सभामा प्रमुख अतिथि बनेर एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाराको पचरौता नगरपालिकास्थित बेनौली गाउँमा आउँदै छन्।
बिहीवार नै सत्तागठबन्धनका सबै शिर्षनेताहरु बाराको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढिमाई मन्दिर परिसरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यी दुई समूहले एक अर्कालाई काउन्टर दिन ‘हेभी वेट’ नेतालाई जिल्लामा बोलाएका हुन्। शीर्ष नेताको भाषणबाट मतदाता आकर्षित गर्ने राजनीतिक दलको रणनीति छ।
ओलीसँगै एमालेका नेताहरु ईश्वर पोखरेल, रघुवीर महासेठ, बाराका सांसद ज्वालाकुमारी साह, अच्यूत मैनाली, उम्मेदवार पुरुषोत्तम पौडेललगायतले बेनौलीमा रहेको पचरौता नगरपालिका नजिकै आयोजना हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा भारतको बिहारकी चर्चित भोजपुरी गायिका आदिती राज, सोनम शर्मा, गायक विशाल यादवलगायतको सांगीतिक कार्यक्रम रहेको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले जनाए। ओली दिउँसो १ बजेपछि बेनौली पुग्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सत्ता गठबन्धनका शीर्ष नेताहरु नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष एवं बारा २ का सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
ओली र सत्ता गठबन्धनका अन्य शीर्ष नेता प्रचण्ड, देउवा, माधव, महन्थ हेलिकप्टरबाट बारा आउने कार्यक्रममा छ। सत्तागठबन्धनका नेता बिहान ११ बजेपछि बारा आउने जसपा सांसद प्रदीप यादवले बताए। उनीहरु हेलिकप्टर तथा निजी सवारीबाट आउने कार्यक्रम छ।
त्यसैगरी, जनमत पार्टीले बारा २ को क्षेत्रमा डा सीके राउतको उपस्थितिमा स्वाभिमान यात्रा गर्ने कार्यक्रम रहेको जनमत पार्टीका नेता वीपी साहले बताए। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले बारा २ मा मोटरसाइकल र्याली गर्ने बताइएको छ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई जिताउन स्वयं साह बारामै अड्डा जमाएर बसेका छन्। ज्ञवालीको चुनावी सभा बिहीवार, नयाँबस्ती, असामटोल, प्रिपाढी, चरमोहनालगायत गाउँमा हुने जनाइएको छ।
उक्त कार्यक्रममा कलाकार रचना सिवाकोटी, अस्वीनी शाही, विजय यादव, टिकटक कलाकार प्रिति पासवान, सरिता साहलगायतले प्रस्तुति दिने छन्।







