चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्दै जसपा

जनपत्र
२२ फाल्गुन २०७९, सोमबार ०७:३६

जनता समाजवादी पार्टी (जसपा) ले गठन गरेको एक कार्यदलले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पार्टीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको समितिले छानबिन गरेर ८० जनामाथि कारबाही गर्न सिफारिस गरेको उक्त समितिका एक नेताले जानकारी दिए।

विभिन्न १४ जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्ने उजुरी आएपछि यो समितिबाट छानबिन भएको थियो।

पाँचथर, सुनसरी, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा गएर कार्यदलले छानबिनसमेत गरेको थियो।

कार्यदलले पार्टीका १ सय ५२ जनासँग चुनावका बेला उम्मेदवारलाई अन्तर्घात गरे वा नगरेकोबारे सोधपुछसमेत गरेको थियो।

तीमध्ये ८० जनाले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको पाइएकोले कारबाही गर्न सिफारिस गरिएको ती नेताले जानकारी दिए।

अब बस्ने पार्टी बैठकले यसबारे टुंगो लगाउने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*