यूएईसँगको टी–२० सिरिज अफगानिस्तानले जित्यो
यूएईविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । गएराति सम्पन्न तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ६ विकेटले हराउँदै अफगानिस्तानले सिरिज २–१ ले जितेको हो ।
श्रृंखलाको पहिलो खेलमा अफगानिस्तान ५ विकेटले विजयी हुँदा दोस्रो म्याचमा भने ९ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा यूएईले दिएको १ सय ६४ रनको लक्ष्य यूएईले १९।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि इब्राहिम जाद्रान र करिम जनतले अर्धशतकीय पारी खेले ।
५१ बलको सामना गरेका जाद्रानले ५ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, जनतले २२ बलमा ५ छक्का र ४ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए ।
रहमानउल्लाह गुर्बाज २०, अफसर जजाई १३ र नजिबुल्लाह जद्रान एक रनमा आउट भए । यूएईका लागि जाहूर खानले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका लागि ओपनिङ ब्याटर मोहम्मद वसिमले आक्रामक पारी खेले ।
५० बलको सामना गरेका उनले ८ चौका र ३ छक्कासहित ७५ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा वसिमको यो सातौं अर्धशतक हो । उनले अघिल्लो खेलमा ५० बलमा सात छक्का र आठ चौकाको मद्दतमा ९१ रनको आक्रामक पारी खेलेका थिए ।
त्यस्तै, वृत्य अरविन्दले ५३ बलमा ७ चौका र एक छक्कासहित ५९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अफगानिस्तानका लागि कप्तान राशिद खान, गुलबदिन नायबले दुईरदुई र नवीनउल हकले एक विकेट लिए ।






