बागमती प्रदेशसभाः सांसदलाई स्वागत गर्न पुरानो भवनलाई चिटीक्क बनाइदै (भिडियो रिपोर्ट सहित)
हेटौंडा । बागमती प्रदेशसभा सचिवालयको पुरानै भवन भएपनि अहिले यसलाई केही न केही नयाँ रुप दिनका लागि दिनरात नभनीकन कामदारहरु खटिएका छन् । प्रदेशसभाको मुल गेट देखि सभामुख, उपसभामुखको कार्यकक्ष सम्मलाई अहिले सिगारीदै छ ।
संसदका बिभीन्न समितिहरुका लागि भने नयाँ भवन तयार पार्नेगरी काम भइरहेको छ । संसदीय दलका कार्यालयहरु पनि केही मर्मत संभार गरेर नयाँ रुप दिने काम भइरहेको छ । बिशेषगरी प्रदेशसभाको हललाई मर्मत गरेर नयाँ रुप दिन लागिएको बागमती प्रदेशसभाका सूचना अधिकारी शुन्दर बाँस्कोटाले जानकारी दिनुभयो ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रदेशसभाको बागमती प्रदेशको अन्तिम परिणाम आउने तरखरमा छ । प्रत्यक्ष तर्फ दोलखा जिल्लाको एक प्रदेशसभाको परिणाम सार्वजनिक भएको छैन भने समानुपातिकको पनि केहि बाँकी छ । अबको केहि दिनभित्र बागमतीले प्रत्यक्ष र समानुपातिक गरि १ सय १० जना प्रदेशसभा सदस्यहरु पाउने छ ।

यसै सन्र्दभमा हेटौँडा–१० मा रहेको प्रदेशसभा भवनलाई मर्मत, रङरोगन तथा ब्यवस्थित पारिदै छ । प्रदेशसभा सदस्यहरुलाई सहज हुनेगरि बस्ने कुर्सीहरुको ब्यवस्थापन तथा हलमा फलसिलिङको काम जारी रहेको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी बास्कोटाले बताउनुभयो । सभामुख, उपसभामुखको कार्यकक्षामा नयाँ डेकोरेसन, नयाँ क्यान्टिनको ब्यवस्थापनको काम पनि जारी रहेको उहाँको भनाई छ । नयाँ डेकोरेसनबाट नयाँपन आउने हुँदा आफुहरुले प्रदेशसभा बैठक आह्वान हुनुअघिनै प्रदेशसभा भित्रका सबै काम सक्ने उहाँको भनाई छ ।
मंसिर ४ मा भएको निर्वाचनपछि प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुनलाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न नभएपछि नयाँ सदन पनि शिक्षा निर्देशनालयको पुरानै भवनबाट सुरु हुने भएको हो।
तत्कालीन निर्देशनालयको भवन छेउमै प्रदेशसभाको हल निर्माण भइरहे पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको छ। बागमती प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ३ वटा सरकार बन्यो। तर, कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो नदिँदा प्रदेशसभाको दोस्रो कार्यकाल पनि पुरानै साँघुरो भवनमा सुरु हुने भएको हो।

बागमती प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूलाई बैठक कक्षमा छिर्न र निस्कन समस्या हुने गरेको छ। पछाडि बस्ने प्रदेशसभा सदस्यहरूलाई बैठक नसकी चाहेर पनि निस्कन सक्दैनन्। साँघुरो बाटो हुँदै सभामुखको आसनअघिबाट मात्र हलभित्र बाहिर गर्ने बाटो छ। बैठक हलको बीच–बीचमा रहेको पिलरले दायाँबायाँ राम्ररी हेर्न पनि समस्या हुने गरेको छ। तत्कालीन शिक्षा निर्देशनालयको भवनमा डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो।
प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्षको अवधिमा यही प्रदेशसभाबाट तीनवटा सरकार परिवर्तन भइसकेको छ। तर, प्रदेशसभामा रहेका कुनै पनि दल र कर्मचारीको व्यवस्थित भवन बनाउने कार्य प्राथमिकतामा परेको छैन। प्रदेशसभा बैठकमा बेलाबखत प्रदेशसभा सदस्यहरूले व्यवस्थित सभाहल बारेमा प्रश्न उठाउने गरे पनि सरकार र प्रदेशसभा सचिवालयले प्राथमिकतामा नराख्दा प्रदेशसभा सदस्यहरूको दोस्रो कार्यकाल पनि साँघुरो सभाहलमै सुरु हुने भएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट बागमती प्रदेशको ६६ प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचित भइसकेका छन्। समानुपातिक तर्फको सिट बाँडफाँड भएपछि आवश्यक प्रक्रिया पूरा गरेर पुसको पहिलो हप्तासम्म प्रदेशसभा बैठक बस्न सक्नेगरी संसद सचिवालयले तयारी गरिरहेको छ। तर, प्रदेशसभाको नयाँ भवन बन्न अझै अर्को नयाँ वर्षसम्म लाग्ने देखिन्छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँचीसगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ। २०७९ को वैशाख १ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रदेशसभा सचिवालय परिसरमै निर्माण सुरु भएको ट्रस्ट सभाहल निर्माण कार्य हालसम्म ८० प्रतिशत मात्रै सम्पन्न भएको छ।

सम्झौताअनुसार समयमा सभाहल निर्माण नभएपछि २०८० को जेठ ३० गतेसम्मको लागि म्याद थप गरिएको छ। २०७७ साल कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा प्रदेशसभा भवन निर्माणको सम्झौता भएको थियो। भवनको बागमती प्रदेशसभाको तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले ०७७ मंसिर १० गते शिलान्याससमेत गरेका थिए।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेको अनुसार नेपालमा एलसी बन्द हुनु, कोरोना महामारी फैलिनुजस्ता कारण देखाउँदै निर्माण कम्पनीले काम ढिलाई गरेको थियो। तर, अबको दुई महिनामा भने प्रदेशसभा भवनको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले बताएको उनको दाबी छ।
प्रदेशसभाको नयाँ भवन निर्माण कार्य भइसकेको भन्दै उनले अब भवन फिनिसिङको मात्रै काम बाँकी रहेको बताए। सभाहलको क्षमता २ सय ५० जनाको रहेको छ। तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले करिब ६० जना क्षमताको तालिम हल निर्माण गरेको थियो। उक्त हलमा १०९ जना प्रदेशसभा सदस्य, कर्मचारी र दर्शक कक्ष अटाइएको छ। स्थान अभावका कारण प्रदेशसभामा रहेका विभिन्न समितिहरूको बैठक प्रदेशसभा बाहिरसमेत बस्ने गरेको थियो।
मंसिर ४ मा सम्पन्न निर्वाचनपछि बागमती प्रदेशसभामा राप्रपाले पनि प्रत्यक्षतर्फ ७ सिट जितेको छ। जसले गर्दा अब राप्रपालाई पनि प्रदेशसभा सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराउनुपर्ने भएको छ। निर्वाचनको अन्तिम मत परिणाम आइरहेसँगै यतिबेला संसद् सचिवालयलाई नयाँ दलको लागि संसदीय दल कहाँ राख्ने भन्ने पिरलो परेको छ।
भिडियो रिपोर्ट हेर्न तलको लिन्क क्लीक गरौ ।







