‘छक्का पञ्जा ४’ भिड्न आएपछि ‘परस्त्री’ निर्मात्रीको आक्रोश

जनपत्र
३ आश्विन २०७९, सोमबार ०७:३०

प्रदर्शन मिति घोषणा गरेका फिल्मको भागाभाग नहुने हो भने यस वर्षको सबैभन्दा ठूलो भिडन्त आगामी फागुन १९ गते हुँदैछ । यो मितिलाई तीन फिल्म ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले प्रदर्शन मिति तोकेर बसेको अवस्थामा शुक्रवार फिल्म ‘छक्का पञ्जा ४’ले पनि प्रदर्शनका लागि यही मिति चयन गर्‍यो । ब्रान्ड फिल्म भिड्न आएपछि अन्य तीन फिल्मका निर्माताको होसहवास् उडेको छ ।
‘छक्का पञ्जा’ सिरिजले बक्सअफिसमा आफूलाई प्रमाणित गरिसकेका कारण नयाँ नाममा बनेका फिल्मलाई थ्रेट हुनु स्वभाविक हो । तर, फागुन १९ गते तीन फिल्म लाग्दैछ भन्ने जान्दा जान्दै त्यही मितिमा प्रदर्शन तोकेर ब्रान्डको नाममा तर्साउन खोजेको आरोप दीपकराज गिरी समुहलाई लागेको छ । शुक्रवार ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारले ब्रान्डको नाममा नतर्साउन चेतावनी नै दिए ।
‘परस्त्री’की निर्मात्री शर्मिला पाण्डेले पनि आफ्नो फिल्मसँग ‘छक्का पञ्जा ४’ भिड्न आएपछि आइतवार फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेकी छन् । आफ्नो फिल्मसँग अरु फिल्म आएर भिड्न लाग्नु निरन्तर रुपमा फिल्म निर्माण गरिरहेको आफ्नो टिमलाई हतोत्साही बनाउन र नेपाली फिल्म उद्योगलाई धरासाही बनाउन गरिएको खेल रहेको शर्मिलाले फेसबुकमा उल्लेख गरेकी छन् ।
उनी लेख्छिन्, ‘हामी हाम्रो फिल्मलाई घोषित मिति फागुन १९ मै प्रदर्शन गर्ने कुरा जानकारी गराउँछौं र नेपाली फिल्म प्रदर्शनमा हुने गरेको बलमिच्याइको बारेमा उचित व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले गर्ने काम के हो त्यो पनि हामी नियाली रहेका छौं ।’ यो फिल्मलाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् भने कोशिश क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*