एसिया कपमा श्रीलंकासँग हार्यो भारत, फाइनल पुग्ने सम्भावना न्यून
एसिया कपको सुपर फोरअन्तर्गत मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको छ। मंगलबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो।
भारतलाई सम्मानजनक स्कोरमा पुर्याउने क्रममा कप्तान रोहित शर्माले ७२ रन बनाएका थिए भने सूर्यकुमार यादवले ३४ रनको पाली खेलेका थिए। श्रीलंकाका लागि दिल्शान मडुशान्काले ३ तथा चमिका करुणरत्ने र डासुन शनकाले समान २र२ विकेट लिए।
१७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। श्रीलंकाका ओपनरद्वय पाथुम निसान्का र कुशल मेन्डिसले अर्धशतकीय पाली खेले।
निसान्काले ५२ तथा मेन्डिस ५७ रन बनाएर आउट भए। त्यस्तै भानुका राजपाक्षले अविजित २५ र डासुन शनकाले ३३ रन बनाए।
यससँगै भारतको फाइनलमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ। सुपर फोरमा लगातार दुई खेल हारेको भारतको फाइनल यात्रा अब अन्य टोलीको नतिजामा निर्भर रहनेछ।






