नेपाल प्रहरीले आफ्नो क्षविमा व्यापक सुधार गरेको छ– मुख्यमन्त्री शाक्य
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालका दिनमा नेपाल प्रहरीले आफ्नो क्षविमा व्यापक सुधार गरेको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले कार्य कुशलतालाई प्रयोग गर्न सकेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री शाक्यले प्रहरीको व्यवसायिकतालाई वृद्धिगर्न प्रदेश सरकार पूर्णरुपमा तयार रहेको धारणा राख्नुभयो । उहाँले प्रहरी भित्र भएका बेथितिलाई न्यनीकरण गर्दै प्रहरी संगठन व्यवसायिक, मर्यादित तथा सबैको साथी संगठनकोरुपमा विकास हुनुपर्नेमा जोड दिनुभयो । शाक्यले समाजमा वृद्धि हुँदै गएको बलात्कार, सामाजिक हिंसा तथा आत्महत्या जस्ता क्रियापलापलाई रोक्ने राज्यकातर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव माग्नुभयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कनूनमन्त्री डा अजयक्रान्ति शाक्यले प्रदेश सरकारले नेपाल प्रहरीका लागि ४० भन्दा बढी भवनहरु निर्माण गरिसकेको तथा सवारी साधन उपलब्ध गराएको र चालु आर्थिक वर्षका लागि ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकार नेपाल प्रहरीलाई सबै पक्षमा सबल र चुस्त बनाउन चाहने उल्लेख गर्दै नेपाल सरकारले प्रहरी समायोजनलाई चाढै टुङ्गोमा पु¥याउनु पर्ने बताउनुभयो । प्रदेश सरकारले प्रहरी ऐन जारी गरिसकेको अवस्थामा प्रहरी समायोजनको काम अगाडि बढाइनुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले प्रहरीको इतिहास र वर्तमानको अवस्थालगायतमा प्रकाश पार्नुभएको थियो । प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पठाउनु भएको सन्देश वाचन गरेर सुनाउनु भएकोथियो ।
६६ औ प्रहरी दिवसका अवसरमा प्रहरी सेवामा उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई आज प्रसंसापत्र प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय, टाँडी चितवनमा कार्यरत प्रहरी हवल्दार निलिमा खनालसहितलाई आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रसंसापत्र प्रदान गर्नुभयो ।