नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षमा मुनु सिग्देलको चयन हुनु भएको छ । पार्टी भित्रको लामो रस्साकस्सी पछी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको जिमेवारी तोक्ने क्रममा मकवानपुर नेकपाको जिम्मेवारी भने सिग्देलले पाउनु भएको हो ।
मकवानपुरमा तत्कालिन एमालेले अध्यक्षले पाउने र माओवादीले सचिव पाउने सहमति भएको थियो । त्यही अनुसार सिग्देलले पार्टीको जिमेवारी पाउनु भएको हो । एमालेका तर्फबाट नेता बद्री लम्साल र श्रीधर पोखरेलको अध्यक्षका लागि महिनौ सम्म निकै चर्चा भएपनि चर्चामै सिमित भयो । तर, पछील्लो समयमा भने सिग्देलले पाटी अध्यक्षको जिमेवारी पाउनुभयो ।
यसअघि जनप्रतिनिधि रहेकाहरुलाई पार्टीको नेतृत्व नदिने सहमति भएपनि त्यो निणय उल्टाएपछी सिग्देलका लागि बाटो खुल्ला भएको हो । अध्यक्ष सिग्देल अहिले प्रदेशसभा सदस्य पनि हुनुहुन्छ । एमालेको तत्कालिन अध्यक्ष समेत रहनु भएका सिग्देललाई पार्टी एक भएपछी पनि पछील्लो समयमा आएर अध्यक्षको जिमेवारी मिलेको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो ।
७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ ।७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।
यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने टुंगो लाग्न बाँकी छ ।