सर्वाेच्चकाे फैसलाकाे स्वागत गर्छाैँ, संवैधानिक इजालसका न्यायधीशहरूलाई धन्यवाद : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएकाे बताउनुभएकाे छ ।
मङ्गलवार अदालतकाे फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा उहाँले भन्नुभएकाे छ, ‘मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । त्यहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ ।’
देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो नै सर्वोच्च अदालत भएकाे बताउनुभएकाे छ । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको उहाँकाे भनाइ छ ।
देउवाले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको संवैधानिक इजालसका न्यायधीशहरूलाई धन्यवाद दिन चाहनुभएकाे छ ।
गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।