प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद् बैठककाे आह्वान

जनपत्र
११ फाल्गुन २०७७, मंगलवार ०८:०१

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठककाे आह्वान गर्नु भएको छ।

ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाउनु भएको निजी सचिवालयले जनाएको छ ।

गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले बताउनु भएको छ ।

नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने बताउनु भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ ।  समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव भएर काम गर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*