जानकारी पाएको १७२ वर्षपछि भेटियो फिसटेल होया

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार ०७:२७

जोसेफ डाल्टन हुकरले वैज्ञानिक अध्ययनका लागि सन् १८४८ मै तमोर नदी आसपासबाट फिसटेल होयाको नमूना संकलन गरेको उल्लेख गरेका थिए। घरभित्रको सजावटमा प्रयोग गर्न सकिने यो वनस्पति १७२ वर्षपछि काठमाडौंमा फेला परेको छ।

नरिवल र सुपारी जस्तो अग्लो, हाँगा नफाटेको एउटै काण्ड, पात पनि सुपारी र नरिवलकै आकृतिको सदाबहार वनस्पतिलाई ‘पाल्म ट्री’ भनिन्छ। पाल्म ट्री ‘क्यारिओटा’ प्रजातिको वनस्पति हो। यो प्रजातिका वनस्पतिको पातको टुप्पोको आकृति माछाको पुच्छर जस्तो हुन्छ। यहीकारण यसलाई ‘फिसटेल पाल्म’ भनिन्छ।

संसारभर फिसटेल पाल्म करीब एक दर्जन प्रजातिका छन्। तर, नेपालमा फिसटेल पाल्मको एउटा प्रजाति क्यारिओटो युरेन्स् मात्र पाइन्छ। यो प्रजाति संयुक्त राज्य अमेरिका, ताइवान, पाकिस्तान, भारत, श्रीलंका, बर्मा, मलेसिया आदि देशमा पनि छन्। नेपालमा यसलाई वन खजुर र जगर भन्ने गरिन्छ।

हालसालै मानबहादुर रोकाया, सरोजकुमार कसजू र विजय खड्काले नेपालमा फिसटेल नै भनिने एक अर्को वनस्पतिको प्रजाति फेला पारेका छन्। तर, यो पाल्म ट्री नभई ‘एपोसाइनेसी’ परिवार अन्तर्गत होया जातिको वनस्पति हो। यो एक मिटर जति लामो हुन्छ र लहराजस्तो देखिन्छ।

यसलाई ‘फिसटेल होया’ भनिँदो रहेछ। नेपालमा पाइएको यो वनस्पतिबारे ‘द जर्नल अफ जापानिज बोटानी’ ९भोलम ९५, अंक ६, डिसेम्बर २०२२०० मा प्रकाशित ‘होया पोलिनेउरा– एन एडिसन टु द फ्लोरा अफ नेपाल’ शीर्षक लेखमा छ। नेपालमा होया जातिका अन्य सात प्रजाति यसअघि नै सूचीकृत भइसकेका छन्।

कस्तो हुन्छ फिसटेल होया ?

लन्डनस्थित ‘रोयल बोटानिकल गार्डेन्स क्यु’बाट जारी क्यु साइन्सको ‘प्लान्टस् अफ द वर्ल्ड’ अनलाइन पोर्टलमा होया पोलिनेउराको ऐतिहासिक ‘हर्बेरियम’ सहितको विवरण उपलब्ध छ। उक्त विवरण अनुसार जोसेफ डाल्टन हुकरले वैज्ञानिक अध्ययन अनुसन्धानका निम्ति यो वनस्पतिको नमूना सर्वप्रथम सन् १८४८ र १८४९ मा भारत तथा नेपालबाट संकलन गरेका थिए। तर, १८८३ मा प्रकाशित हुकर सम्पादित ‘फ्लोरा अफ ब्रिटिश इन्डिया’ ९भोलम–४० मा होया पोलिनेउरा सिक्किम हिमालयमा संकलन गरिएको जनाइएको छ। ९पृष्ठ ५४०

हुकरले संकलन गरेको हर्बेरियममा लेखिए अनुसार यसको नमूना पूर्वी नेपालको तमोर नदी आसपासबाट १२ सेप्टेम्बर, १८४८ मा संकलन गरिएको थियो। फिसटेल होयाको वैज्ञानिक नामकरण गर्दा उनले दार्जिलिङ र सिक्किमका नमूना प्रयोग गरेको विवरण फरक परेको रहेछ। पछिल्लो पटक हुकरले नै प्रस्तुत गरेको विवरणले यो वनस्पति पहिलो पटक भारतबाट संकलन भएको देखिन्छ। यसलाई चिनाउन यदि नेपालबाट संकलन गरेको नमूना प्रयोग गरिएको भए पहिलो पटक नेपालमा फेला परेको ठहरिन्थ्यो। किन हो, हुकरले यसो गरेनन्।

गुगल सञ्जालमा पनि फिसटेल होयाबारे प्रशस्त जानकारी पाइन्छ। यो घरभित्र सजाउने लोकप्रिय वनस्पति रहेछ। यसले सूर्यको प्रत्यक्ष प्रकाश रुचाउँदैन। घरभित्र पुग्ने थोरै प्रकाशमै सप्रिन्छ। जंगलमा यसको लहरा घामको प्रकाश प्रत्यक्ष नपुग्ने रुखमा झुन्डिएको हुन्छ भन्ने विवरणहरू पाइन्छ।

यो वनस्पति गमलामा झुन्ड्याएर वा उचाइमा राख्दा लत्रिन्छ। यसको सुन्दरता भनेकै पातको आकृति हो। पातका रेसाहरू अत्यन्त आकर्षक देखिन्छन्। टुप्पोको आकृति माछाको पुच्छर जस्तै साँघुरिएको हुन्छ। फूल भने मेदेखि जुन महीनासम्म स्टारफिस जस्तो आकृतिमा नौनी रंगमा फुल्छ। केन्द्र भाग भने कलेजी रंगको हुन्छ। यो प्रजाति पूर्वोतर भारत, भुटान, लावोस, बर्मा, चीन र नेपालमा पाइन्छ।

नेपालको अध्ययन कमजोर

फिसटेल होयाको नमूना सन् १८४८ मै नेपालमा संकलन गरिएको चर्चा माथि गरियो। तर, मानबहादुर रोकाया, सरोजकुमार कसजू र विजय खड्काले नेपालमा फिसटेल होया पाइन्छ भन्ने जानकारी सहितको लेख डिसेम्बर २०२० मा मात्र पहिलो पटक प्रकाशित गरे।

नेपालबाट फिसटेल होयाको नमूना हुकरले मात्र होइन अन्य अनुसन्धानकर्ताले पनि दशकौंअघि संकलन गरेका थिए। तीमध्ये एक दुई वटा नमूना ललितपुरको गोदावरीस्थित राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा सङ्गृहीत छन्। तर, नेपालका वनस्पतिबारे लेखिएका पुस्तक तथा जर्नलमा यो प्रजाति नेपालमा पाइन्छ भन्ने जानकारी प्रकाशन भएको थिएन।

रोकाया, कसजू र खड्काले लेखे अनुसार उनीहरूले सन् २०१९ मा एक स्थलगत अध्ययनको  क्रममा यो वनस्पति काठमाडौ उपत्यकास्थित नागढुंगा नजीकको इन्द्रदहमा फेला पारेका थिए। त्यो वनस्पति होया प्रजातिको भन्ने त प्रष्ट चिनियो, तर उनीहरूले अध्ययन गर्दै जाँदा नेपालमा पाइने अन्य होया प्रजातिसँग मेल खाएन।

पछि होया पोलिनेउरा भन्ने पत्तो लाग्यो। यसकारण, यो जानकारी जर्नलमा छापियो। यसरी हुकरले पहिलो पटक नेपालबाट संकलन गरेको भनिएको होया पोलिनेउराको नमूना पुनः नेपालमा भेटेर औपचारिक रूपमा जानकारी छाप्न १७२ वर्ष लाग्यो। यसले नेपालको वनस्पति अध्ययन अनुसन्धान कछुवाको गतिमा छ भन्ने प्रष्टिन्छ।

नेपालमा होया ग्लोबुलोसा, होया भेक्सिनिइड्स, होया भर्टिसिलाटा पनि सूक्ष्म अध्ययन भए थपिने सम्भावना छ। किनभने विभिन्न पुस्तकमा उल्लेख भए अनुसार ती प्रजाति पाइने ठाउँ नेपालको सिमानासम्म जोडिन्छन्। होया ग्लोबुलोसा त दार्जिलिङसहित उत्तरपश्चिम भारतमा पनि पाइँदो रहेछ।

यो वनस्पति उच्च पहाडी भेगमा पाइन्छ। होया ग्लोबुलोसा दक्षिणपूर्व एसियाबाट दक्षिण एसियामा फैलन क्रममा नेपाल भएर नै उत्तरपश्चिम भारत पुगेको हुनुपर्छ। नेपालभन्दा पूर्व र पश्चिम दुवैतर्फ यो प्रजातिको अस्तित्व हुने अनि नेपालमै मात्र नहुने त हुनै सक्दैन। होया ग्लोबुलोसाको नमूना सम्भवत नेपालमा संकलन भइसकेको हुनुपर्छ। तर, अध्येताहरूले तिनलाई प्रष्टसँग पहिचान गर्न नसकेर अर्कै प्रजाति ठाने होलान्।

नर्सरीमा लगाउन सकिन्छ 

‘तुक्र्जानिनोविआ’ जर्नलको भोलम २०, अंक ३ ९सन् २०१७० मा ‘प्रिलिमिनरी चेकलिस्ट अफ होया इन द फ्लोरा अफ कम्बोडिया, लाओस एन्ड भियतनाम’ शीर्षकको ४३ पृष्ठ लामो लेख छापिएको छ। लेखमा ती तीन देशमा पाइएका ३३ होया प्रजातिका तस्वीर र विवरण समावेश छन्।

यहाँ उल्लिखित होयाका फूल अत्यन्त आकर्षक छन्। नेपालमा पाइने आठ वटै प्रजातिको होयाका फूल पनि आकर्षक छन्। त्यसैले यसका सबै प्रजाति ‘इन्डोर प्लान्ट’का रूपमा प्रयोग गरिन्छन्।

तर, नेपालमा सायदै होया वनस्पति इन्डोर प्लान्टका रूपमा प्रयोग गरिएको होला। यदि कोही वनस्पति सोखिनले लगाएको भए पक्कै आयातीत हुनुपर्छ। किनभने यो पंक्तिकारले काठमाडौ उपत्यकाका दर्जनौं नर्सरीमा होया वनस्पति अहिलेसम्म देखेको छैन।

नेपालमा फूलबारी तथा घरभित्र लगाउन सकिने सुन्दर वनस्पति प्रशस्त छन्। तर, यहाँका नर्सरीमा जंगलबाट खोजेर ल्याउनेभन्दा विदेशबाट झिकाउने परिपाटी छ। बरु विदेशीले नेपालका वनस्पति लगेर घरभित्र लगाएका छन्। त्यो क्रम सन् १८०२–०३ तिरबाटै शुरु भएको हो। अर्थात् नेपालबाट वनस्पति संकलन गरेर विश्वभर व्यापार गरिन्छ। नेपालीलाई त्यो नेपालको हो भन्ने पत्तो नै हुँदैन।

राज्यले नर्सरी विकास तथा प्रवर्द्धनका निम्ति हाम्रै सुन्दर वनस्पति सक्दो प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ। यसका निम्ति के कस्तो अध्ययन जरुरी पर्छ, वन मन्त्रालयले कार्यक्रम तय गर्नुपर्छ। अन्त्यमा, इन्डोर प्लान्ट होया पोलिनेउरा नेपालमा पाइन्छ भन्ने जानकारी प्रदान गर्ने लेखकत्रय प्रति मुरीमुरी बधाई।हिमालखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*