बागमतीका सभामुखमा अल्पमतको सरकारको छाया देखियोः दाहाल–नेपाल समूह
हेटौंडा — प्रदेशसभा सदस्य तथा नेकपा दाहाल–नेपाल समूह वाग्मती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सभामुखले आफ्नो पद नै धरापमा राखेर प्रदेशसभाको बैठक स्थगित गरेको आरोप लगाएकी छिन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभाामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना टाँसेर स्थगित गरेर अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्याएको उनको आरोप छ ।
प्रदेशसभा सचिवालयमा दाहाल–नेपाल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् । सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको आरोप लगाउँदै उनले भनिन्, ‘सरकार अल्पमतमा रहेको छ । यस्तो अवस्थामा निरन्तर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको घोर उल्लंघन सभामुखबाट भयो ।’
अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक नराखी र कुनै विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेशसभाको बैठक अविलम्ब सुरु गर्न उनले माग गरेकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव प्रदेशसभा दर्ता गराएका थिए ।
नेकपा संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेलले लामो समयदेखि अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधत्व गर्ने सवै राजनीतिक दलहरु एउट्टै कित्तामा उभिन आह्वान गरे । ‘बैठक स्थगित गर्नु सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य, मान्यता र मर्यादाको पक्षमा उभिनुपर्ने समय आएको छ,’ जम्मकट्टेलले भने । विशेष कारण देखाउँदै प्रदेशसभाको बैठक सभामुखले स्थगित गरेका थिए । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा आइतबार राति स्थगित गरिएको हो । दाहाल–नेपाल समूहका सांसदहरुले तत्काल प्रदेशसभाको बैठक बोलाउन आह्वान गर्दै प्रदेशसभामा नाराबाजीसमेत गरेका थिए । इकान्तिपुरबाट साभार ।







