मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव : मतविभाजनबारेमा ओली र दाहाल-नेपाल पक्षबीच विवाद
हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमा मत विभाजन प्रक्रियालाई लिएर सत्तारुढ नेकपाका ओली र दाहाल–नेपाल समूहबीच विवाद भएको छ । मत विभाजनलाई सहज बनाउन निर्माण गर्न लागिएको कार्यविधिलाई लिएर अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिको बैठकमा दुई पक्षबीच विवाद भएको हो ।
ओली समूहका गणेश दुलाल, केशवराज पाण्डे, दाहाल–नेपाल समूहका राजेन्द्र पाण्डे, कञ्चन खनाल र बुद्धिमान माझीबीच मतविभाजनको प्रक्रियालाई विवाद भएको हो । ओली पक्षका सांसदहरुले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव निर्माण र मतविभाजनको प्रक्रियालाई लिएर बैठक लम्ब्याउने पक्षमा देखिएपछि दाहाल–नेपाल पक्षका सांसदहरुले तत्काल कार्यविधि टुंग्याउन जरुरी रहेको औंल्याएको थियो । उक्त विषयमा दुवै पक्षवीच विवाद भएको हो ।
‘कार्यविधिको नाम, प्रदेशसभामा अगाडि बढाउने प्रक्रियाको विषयमा दुवै पक्षबीच मतभेद सिर्जना भएको थियो,’ बैठकमा सहभागी एक सांसदले भने ।स्यौदा समितिको बैठकले नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामालाई संयोजक मेत तोकेको छ । लामाले मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको भए पनि कार्यव्यवस्था समितिमा थप छलफल गर्न बाँकी रहेको बताए ।
‘कार्यव्यवस्था समितिमा संसदीय दलका नेताहरुसँग छलफल गरेर मात्र सभामुखलाई मतविभाजनको अन्तिम मस्यौदा हस्तान्तरण गर्नेछौं,’ उनले भने । आगामी प्रदेशसभाको बैठक अगाडि बस्ने कार्यव्यवस्था मस्यौदा निर्माण समितिको बैठकमा मस्यौदा छलफलका लागि उपलब्ध गराइने बताए ।
अविश्वासको मत विभाजनलाई सहज बनाउन भन्दै सभामुख श्रेष्ठको अगुवाइमा नौ सदस्यीय कार्यविधि मस्यौदा निर्माण समिति गठन गरिएको थियो । समितिले बैठकले अविश्वासको पक्ष, विपक्ष र तटस्थ बस्न पाउने गरी नो भोटको व्यवस्था गर्न सुझाएको छ । यस विषयलाई मस्यौदामा समेट्ने वा नसमेट्ने सभामुखमा निर्भर छ । इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।







