नेकपा विवाद : काटिन छाड्यो सांसदको लेबी

जनपत्र
१ माघ २०७७, बिहीबार ११:५२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसदहरूको लेबी काटिन छाडेको छ ।

नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको छ ।

प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका थिए । त्यसबाहेक अन्यको पनि कता पठाउने हो भन्ने यकिन नभएपछि नेकपा सांसदहरूको लेबी नकाटिएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए ।

‘उहाँको पैसा उहाँहरूकै खातामा हालिदिएपछि पार्टीलाई दिन मन लागे दिनुहुन्छ । कहाँ दिने भन्ने पनि ठेगान छैन । फेरि एक अर्काले खाताहरू रोक्का राखेको छ । कसले सञ्चालन गर्छ जानकारी हुने पनि भएन,’ सिग्देलले अनलाइनखबरसँग भने ।

गत पुस १२ गते प्रचण्ड–माधव समूहले बिभिन्न बैंकहरूलाई पत्राचार गर्दै पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न आग्रह गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको भए पनि संघीय संसद सचिवालयमा संयुक्त बैंक खाता बुझाएका थिएनन् । जसले गर्दा दुवै पार्टीको बैंक खाता फरक–फरक रुपमै सञ्चालित थिए ।

संसद सचिवालयका अनुसार तत्कालीन एमालेका सांसदको लेबी नबिल बैंकको खातामा जान्थ्यो । तत्कालीन माओवादी केन्द्रका सांसदहरूको लेबी भने एभरेस्ट बैंकको खातामा जान्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*