प्रधानमन्त्रीले बाेल्न थालेपछि शिर निहुर्‍याएर बस्नुपर्ने अवस्था आयाे : माधवकुमार नेपाल

जनपत्र
२१ पुष २०७७, मंगलवार २०:०३

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरूलाई गरेका शब्दवाण सुनेर आफूलाई पोल्ने गरेको समेत बताउनुभयो । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देशभित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरि बोल्ने प्रवृत्तिले आफूहरूलाई शिर निहुर्‍याएर बस्नुपर्ने अवस्थामा पुर्‍याएकाे समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा उहाँले विपक्षी पार्टीहरूसँग, विपक्षी नेताहरूसँग गरिएका शब्दवाणहरू सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अभिभावक भएको प्रधानमन्त्रीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शिर निहुर्‍याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्याे । हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले नागरिकका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको उहाँले बताउनुभयो । नागरिककाे हितमा काम नगर्ने तर भ्रष्टाचार मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेता नेपालकाे भनाइ छ ।

‘उहाँले आफूखुसी काम गरेर, नागरिकका समस्यालाई बेवास्ता गरेर, देशमा बेहाली ल्याएर, भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर, सबै खालका लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चेर चल्ने कुरालाई पार्टी भित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरङ्कुश कार्यशैलीको विरोध गरिएकै हो तर पार्टीभित्र गरिएको हो’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको हत्या गर्न खोजेको आरोपसमेत लगाउनुभयो । प्रजातान्त्रिक प्रवृत्ति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरूलाई एक–एक गरेर सिध्याउन चाहेको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठिक व्याख्या गरेर गलत गर्नेहरूलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*