प्रतिनिधिसभा संसद् विघटन गरेर जनतमतलाई धोका दिइयो–केन्द्रीय सदस्य उपाध्याय
हेटौंडा । कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको बलात्कार गरेको आरोप लगाएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सनकको भरमा प्रतिनिधिसभा संसद् विघटन गरेर जनतमतलाई धोका दिएको बताइन् । ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई बर्ष पुगिसकेको छ । दिनहुँ बलात्कार र हत्या बढिरहेको छ । सोही अनुपातमा भ्रष्टाचार पनि बढिरहेको छ’, डीनाले भनिन्, ‘न बलात्कारी र हत्यारा पक्राउ गर्न सकेको छ । न भ्रष्टाचार नियन्त्रण नै । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्साबाट हटाएर देशकै बलात्कार गरेको छ ।’
सरकार सर्वसत्तावाद उन्मुख भएको धारणा राख्दै उनले सरकारको रबैयाको विरुद्ध नेपाली जनता सडकमा ओर्लिएको दावी गरिन् । ‘सरकारको गल्तीले सारा जनताको आँखामा आँसु छ । सरकार आँसु पुछ्न छोडेर सरकार भ्रष्टाचारमा डुबेको छ’, पूर्व राज्यमन्त्री समेत रहेकी डीनाले थपिन्, ‘संसद् विघटन गरेर असंवैधानिक एवम् अलोकतान्त्रिक काम गरेको छ । यसको बिरुद्ध सबै एक हुनु आवश्यक छ ।’ जनताको बलामा नेपालमा राजतन्त्र ढलेको स्मरण गराउँदै अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने उनले चेतावनी दिइन् ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा र आनन्द कठायत, कांग्रेस मकवानपुर सल्लाहकार एवम् महासमिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य उमा दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, महासमिति सदस्य उदयमोहन श्रेष्ठलगायतले कम्युनिष्ट सरकार सर्वसत्तावादी भएको र अलोकतान्त्रिक एवम् असंवैधानिक निर्णय गर्दै अघि बढेको धारणा राखेका थिए । कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतका नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा सत्तारुढ दल नेकपा र राप्रपा परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश गरेका थिए ।







