वाग्मतीमा सत्ताको जोडघटाउ : सरकार ढाल्ने र टिकाउने दुवै पक्षलाई कांग्रेस ‘निर्णायक’

जनपत्र
१२ पुष २०७७, आईतवार १७:४१

मकवानपुर — मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै वाग्मती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको छ । तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गरेका पौडेलविरुद्ध सत्तारूढ नेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहाल–नेपाल पक्षबाट अविश्वासको प्रस्ताव दर्ता भएको हो । अब वाग्मती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आवश्यक देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा दाहाल–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्‍याउन कांग्रेसको साथविना सम्भव छैन । मुख्यमन्त्रीको पक्षमा ३४ मत छ । मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग छ ।

४६ मत मात्र रहेको अर्को पक्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ आवश्यक पर्छ । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् । साना दल सबै दाहाल–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन । यद्यपि कांग्रेसले हालसम्म ठोस निर्णय लिन सकेको छैन ।

यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको छ । यति महत्वपूर्ण विषय केन्द्रीय नेतृत्वसँग छलफल नगरी अघि बढ्न नसक्ने अवस्थामा पुगेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् । मुख्यमन्त्री पौडेल अविश्वासको प्रस्ताव सामना गर्नुअघि कांग्रेसको साथ खोजिरहेका छन् । दुवै पक्षबीच विभिन्न चरणमा छलफल भइसकेको छ ।

‘लोकतन्त्रलाई संस्थागत गर्न र परिवर्तनलाई बचाउन कांग्रेसले उचित समयमा उचित निर्णय गर्नेछ । तत्काल सरकारमा जाने विषयमा छलफल भएको छैन,’ नेता बानियाँले भने, ‘आवश्यक परेको खण्डमा लोकतन्त्र र प्रदेशको हितमा निर्णय गर्न तयार छौं ।’

मुख्यमन्त्री पौडेलले तत्काल कांग्रेस वा अन्य दलसँग सहकार्य हुनेरनहुनेबारे भन्न सकिने अवस्था नरहेको बताए । ‘अविश्वासको प्रस्ताव सामना गर्न जुन समूहसँग सहज हुन्छ सोही समूहसँग सहकार्य गरिन्छ,’ उनले भने । प्रदेशका तीन मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । यस हिसाबले मन्त्रिपरिषद्‌मा पौडेल बहुमतमा छन् तर सरकार नै अल्पमतमा परिसकेको छ । स्रोतका अनुसार यस विषयमा मुख्यमन्त्री पौडेल प्रधानमन्त्री ओलीसँग परामर्शमा रहे पनि निचोडमा पुगिसकेका छैनन् ।

‘प्रदेशको विषयमा केन्द्रीय तहबाटै भएको निर्णयअनुसार हुनेछ,’ सांसद दीपक निरौलाले भने । यसअघि अविश्वासको प्रस्ताव आउन सक्ने संकेत पाएरै प्रदेशसभा बैठक बोलाइएको छैन । गत साउन ६ गते बजेट अधिवेशन सकिएको छ । माघ ५ गते प्रदेशसभा बैठक बोलाइसक्नुपर्नेछ । संविधानतस् एक चौथाइ सदस्यले प्रदेश प्रमुखसमक्ष बैठक माग गरे सभामुखले बैठक तत्काल बोलाउनुपर्ने देखिन्छ । सभामुख सानुकुमार श्रेष्ठले अविश्वासको प्रस्तावको विषयमा आगामी बैठकबाटै प्रक्रियामा जाने बताइसकेका छन् ।

विघटनको सम्भावना बलियो

अविश्वासको प्रस्ताव पारित भयो र कांग्रेसले सरकारमा जाने इच्छा देखाएन भने प्रदेशसभा विघटन हुने सम्भावना बलियो छ । तत्कालका लागि अर्को पक्षले सरकार गठन गर्ने दाबी गर्न सक्छ तर यसका लागि दल विभाजनको औपचारिक पत्र प्रदेशसभामा प्राप्त हुन जरुरी छ । दल विभाजन भई अर्को पक्षले प्रदेश सरकार गठन गरे पनि ६ महिनाभित्र विश्वासको मत प्राप्त गर्न पर्छ । कांग्रेसको साथविना यो पनि सम्भव छैन । तसर्थ कांग्रेसले मुख्यमन्त्रीलाई साथ दिएन र अविश्वासको प्रस्ताव पारित भयो भने मुख्यमन्त्री पौडेलले संविधानको धारा १६८ ९७० प्रयोग गरेर प्रदेशसभा विघटन गरी नयाँ चुनाव घोषणा गर्न सक्छन् । सरकार नै बन्न नसक्ने अवस्थामा पुग्न सक्ने हुँदा मुख्यमन्त्रीको यो कदम संविधानतस् सही मानिन सक्छ ।

यता, प्रधानमन्त्रीले प्रदेशसभामा पनि ‘हलचल ल्याउने’ संकेत गरिरहेको अवस्थामा उनले प्रदेशसभा विघटन गर्न सक्ने प्रावधान पनि छ । संविधानको धारा २३२ ९३० मा राष्ट्रपतिले बढीमा ६ महिनासम्मका लागि प्रदेशसभा विघटन गर्न सक्ने प्रावधान रहेको छ । तर उक्त प्रावधानअनुसार विघटन भएको ३५ दिनभित्र संघीय संसद्को २ तिहाइ बहुमतले पारित गर्नुपर्छ ।

अब बस्ने बैठकमा नै मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव सामना गर्न सक्ने अवस्था छ । अविश्वासको प्रस्ताव पारित भए र नयाँ सरकार बन्ने अवस्था नभए प्रदेशसभा विघटन हुने सम्भावना पनि बलियो देखिएको छ । इकान्तिपुरबाट हामिले यो समाचार साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*