प्रचण्डले आफूलाई कारबाही गर्नु हाँस्यास्पद, नेपालले पूर्वएमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : ओली

जनपत्र
९ पुष २०७७, बिहीबार ०७:३८

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउनुभएको छ ।

बुधबार साँझ ‘योहो टेलिभिजन’मा उहाँले नेकपा विभाजन भएको स्वीकार गर्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हाँस्यास्पद भएको पनि उहाँले तर्क गर्नुभयो ।

‘प्रचण्डले मलाई पार्टी सदस्यबाट निष्काशन गर्ने ? चार्ली च्याप्लिनको जोकभन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तीमा एक दशक अगाडि राजनीतिमा लागेको हुँ । एक दशक अगाडि पार्टी सदस्यता लिएको होला । जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ?’ ओलीले अन्तर्वार्तामा भन्नुभयो । उहाँले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको पनि दाबी गर्नुभयो ।

ओलीले पार्टीमा अहिलेको विभाजन माधव नेपाल र झलनाथ खनालसँग नभएर प्रचण्डसँग भएको बताउनुभयो । त्यसैले पूर्वएमालेको पार्टी कार्यालयमा नेपाल र खनालले दाबी गर्न नमिल्ने र नसक्ने उहाँले जिकिर गर्नुभयो । ‘प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव जीले दाबी गर्न मिल्दैन । उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ’ ओलीले भन्नुभयो ।

आफूले पेरिसडाँडाको सम्पत्तिमा हक दाबी नगर्ने पनि ओलीले स्पष्ट पार्नुभयो । ‘विभाजन भएको प्रचण्डजी र मेरो हो । पेरिसडाँडामा मेरो हक दाबी छैन । मैले प्रचण्डजीसँग विभाजन गरेको हो । नेपाल, झलनाथ र नारायणकाजीसँग विभाजन गरेको हैन’ ओलीले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*